
वडाध्यक्ष विनोदसिंह विष्ट
सुर्खेत। सुर्खेतका भाइरल वडा अध्यक्षमाथि एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर फरार भएको अर्को गम्भीर आरोप लागेको छ । वीरेन्द्रनगर नगरपालिका –३ का वडाध्यक्ष विनोदसिंह विष्ट र उनका साथीहरू सुशील गुरुङ र बलिराज शाहीले बिहीबार दिउँसो सोही वडाको खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएको उपभोक्ता समितिले आरोप लगाएको छ ।
तटबन्धनको काम सम्पन्न भई रकम बाँड्दै गर्दा समितिका अध्यक्ष हर्कबहादुर सिंहको घरबाट वडाध्यक्ष विष्टले पैसा राखेको झोला जफत गरी लिएको भनी उपभोक्ता समितिका व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ठाडो उजुरी दिएका छन् । बिहीबार दिउँसो २ बजेको समयमा दुई जना केटाहरू ल्याएर बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य गीता खड्काले जानकारी दिइन् ।
उनले शुक्रवार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी समेत दिएको जानकारी दिइन् । उनले काम सम्पन्न भएको एक महिना भन्दा बढी भएपछि हिसाब गर्नका लागि आफ्नो घरमा बसेको बेला पैसा लिएर वडा अध्यक्ष र अन्य दुई जना फरार भएको बताइन् । उनले फरार भएका तीनै जनालाई कारबाही गर्नुपर्ने माग राखेकी छन् ।

‘पैसा लिएको खबर पाउन बित्तिकै मैले सम्पर्क गरे, तर उनले फोन उठाएनन्, पैसा लिएर फरार नै भएको हुन्,’ सदस्य खड्काले भनिन् । प्रगतिनगर टोल विकास अध्यक्ष ढाका गिरीले टोल विकास अध्यक्षको रोहवरमा रकम बाझ्ने भनेर उपभोक्ता समितिका मानिसहरू आफ्नो घरमा आएको र त्यही समयमा वडा अध्यक्षसहित अन्य दुई जनाले कोठामा राखेको रुपैयाँ समातेर फरार भएको बताए।
उनले भने, ‘वडाध्यक्ष पैसा लिएर फरार हुनुभएको छ उहाँलाई छिट्टै कारबाही हुनुपर्छ, वडा अध्यक्ष भनेको पैसा लुट्नको लागि बनेको हो र रु उहाँ वडा अध्यक्ष भइसकेपछि वडा अध्यक्षको काम गर्ने हो यसरी पैसा लुट्ने होइन ।’ टोल विकास समितिको घरमा उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य सहितले काम गरेको हिसाब बाँडफाँट गर्ने समयमा तीन जना गुन्डा शैलीमा आएर राखेको रकम जफत गरेर भागेको उनले बताइन् ।
‘म प्रत्यक्षदर्शी हुँ । पैसा समातेर तीन जना फरार भएका हुन्, उनले भने। वडाध्यक्ष जस्तो उच्च गरिमा पदमा बसेर भएका समस्यालाई सुल्झाउने नभएर गुन्डा ल्याएर दादागिरी देखाउने गरेको गिरीले भने । उपभोक्ता समिति सचिव बालकुमारी बुढाले पैसा समातेर जाने सुशील गुरुङ रहेको र वडा अध्यक्ष पनि सँगै गएको दाबी गरिन ।
उपभोक्ता समितिको रकम समातेर फरार भएको भनिएका सुशील गुरुङले आफू व्यवसायी भएको र आफ्नोबाट लिएको ढुङ्गा, गिटी बालुवाको बाँकी रहेको रकम नदिएको उपभोक्ता समितिलाई आरोप लगाए। आफ्नो बाँकी रहेको ४ लाख रुपैयाँ माग्दा समितिका अध्यक्षले विभिन्न बहानामा बनाउँदै आएको बताउँदै उनले आफू नभागेको र यो सबै आफ्नो बेइज्जत गराउनका लागि गरेको जिकिर गरे ।
यता, वडा अध्यक्ष विष्टले आफूमाथि लागेको आरोप झुटो भएको बताउँदै उपभोक्ता समितिका अध्यक्षले घुस दिनका लागि बारम्बार झोला ल्याउन आग्रह गरेको बताए। उनले केही दिन अघि समितिका अध्यक्षले आफ्नो श्रीमतीको हातमा २ लाख पैसा लिएर आफ्नो घरमा पठाएको जानकारी दिए ।
‘केही दिनअघि समितिका अध्यक्षले बुढीलाई २ लाख पैसा दिएर मलाई दिनुहोला भनी घुस बापत पठाउनुभएको थियो, तर, मैले उल्टै थर्काएर पठाए,’उनले खबरदृष्टिसँग भने, ‘काम गरेर बचेको पैसाले त्यही ठाउँमा काम गर्दिन आग्रह गरेको थिए तर उहाँहरूले तपाईँलाई पैसा कति चाहियो भनेर सोध्नु भएको थियो, कति पटक झोला समेत छ कि म झोलामा पैसा हाल्दिन्छु समेत भन्नुभएको थियो । मैले एक प्रतिशत झुट पनि झुट बोलेका छैन यो सत्य हो, उनले भने।
उनले थपे, ‘उहाँहरुले डेढ लाख रुपैयाँ बाँडेर खाएको देखियो । बचेको साढे ६ लाख रुपैयाँ हिसाब गरेर पार्टीलाई दिऊँ कि भन्ने कुरा गर्नुभएको थियो मैले जे गर्नुस् गर्नुुस भनेको थिए ।’ आफूले कसैलाई धम्की नदिएको र रकम पनि नलिएको उनको दाबी गरे ।
प्रदेश सरकारको खोर्केखोला तटबन्धन निर्माणका लागि ३० लाख रुपैयाँ बजेटमा तटबन्धनको काम सम्पन्न भएको थियो । उपभोक्ता समितिले मजदुरलाई भुक्तानी गर्ने रकम नै वडाध्यक्षले लुटेर लगेको समितिका सदस्य खड्काको आरोप छ । उनले प्रहरी कार्यालयले आफूहरूले दर्ता गराएको उजुरीलाई गम्भीरतापूर्वक नलिएको समेत बताइन् ।
यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले वडाध्यक्ष विष्टविरुद्ध रकम जफत गरेको ठाडो उजुरी आएको बताए। उनले नाम मुछिएका दुई जनालाई प्रहरी कार्यालयमा बोलाएको तर पीडित पक्षले तीनै जनालाई बोलाएर मात्रै छलफल गर्ने माग राखेपछि उनीहरूलाई पनि शनिवार बिहान बोलाइएको जानकारी दिए ।
उनले वडा अध्यक्षलाई अहिले नै फरार भन्न नमिल्ने समेत बताए । डिएसपी शाहीले खबरदृष्टिसँग भने ‘वडाअध्यक्षलाई शनिवार बिहान जिल्ला प्रहरी कार्यालय सुर्खेतमा तीनै जनालाई प्रहरी कार्यालयमा बोलाएका छौँ, उहाँसँग हाम्रो कुराकानी भइरहेको छ, त्यसैले अहिले नै उहाँलाई फरार भन्न मिल्दैन । पक्राउ पुर्जी जारी भई कसैको पनि सम्पर्कमा नभएको भए उहाँलाई फरार भन्न मिल्थ्यो ।’
वीरेन्द्रनगर नगरपालिका ३ का वडा अध्यक्ष विष्ट बेलाबेलामा विभिन्न ‘स्टण्ट’ले चर्चामा आइरहेका छन् । उनी सुर्खेतका भाइरल वडाध्यक्षको रूपमा चिनिन्छन्।
