
सुर्खेत । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत दोस्रो पटक प्रदेश अस्पताल सुर्खेतमा मृगौला प्रत्यारोपण सम्पन्न भएको छ । बिहीबार साँझ रोल्पा जिल्लाको रोल्पा नगरपालिका–२ निवासी ५५ वर्षीय आमाले ३७ वर्षीय छोरालाई मृगौला दान गरेपछि छोराको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको हो ।
प्रत्यारोपण शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग तथा कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा उक्त दोस्रो प्रत्यारोपण कार्य सम्पन्न भएको हो । उक्त कार्यक्रम सञ्चालनको लागि सुर्खेत प्रादेशिक अस्पतालको तर्फबाट डा. डम्बर खड्का र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको तर्फबाट डा. ले प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण गर्नाका लागि १० चैत्र २०७८ मा सम्झौता गरी प्रत्यारोपण सेवा सुरु गर्ने समझदारी गरेका थिए ।
साेहीअनुसार सम्पूर्ण कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पुरा गरे पश्चात् आमाले छोरालाई मृगौला दान गरेकी थिइन् । प्रत्यारोपणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका मन्त्री मोहन बहादुर बस्नेतको अभिभावकत्व तथा सचिव देव कुमारी गुरागाईँ र डा. रोशन पोखरेल, ओ.टी इन्चार्ज प्रभा रावल तथा ओ.टी. र आइसियुमा कार्यरत नर्सिङ कर्मचारीहरू साथै प्रयोगशालाका इन्चार्ज लगायतका कर्मचारीहरू संलग्न भएका थिए ।
प्रदेश अस्पतालमा नियमित रूपमा प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना रहेको छ । त्यसको लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउनको लागि केहीलाई केन्द्रमा थप तालिममा पठाएको र केहीलाई पठाउने योजना बनाएको अस्पतालका निर्देशक डाक्टर खड्काले जानकारी दिए । उनले अहिले मृगौँला प्रत्यारोपणका लागि जनशक्तिको अभाव भएको बताए ।
यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव गुरागाईँले यहाँ जनशक्तिको अभाव भएको बारे केन्द्रमा छलफल भइरहेको जानकारी दिइन् । उनले सम्पूर्ण कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पुरा गरी मृर्गाैँला दिन तयार भएमा मन्त्रालयबाट गर्न सकिने सहयोग गर्न तयार भएको बताएकी छन् । यता, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले कर्णालीका जनताहरूले मृगौला फेल भएर ज्यान गुमाउनुपर्ने समस्या अबको दिनबाट अन्त्य भएको बताए ।
उनले कर्णालीमा भएको सफल प्रत्यारोपणले अब काठमाडौँ लगायतका ठाउँमा बिरामीले धाउनुपर्ने बाध्यता हटेकाे बताए । हाल अस्पतालमा आउने गरेका बिरामीले भोगिरहेका विभिन्न समस्याहरूको समाधानका लागि प्रदेश सरकार तयार रहेको बताउँदै उनले अस्पतालले पनि यस्ता विषयबारे गम्भीर भएर सोच्न आग्रह गरेका छन् ।
मृगौला बिरामीको चापलाई ध्यानमा राख्दै देशव्यापी रूपमा विस्तार गर्ने लक्ष्य अनुसार कर्णाली प्रदेशमा दोस्रो पटक मृगौँला प्रत्यारोपण गरिएको हो । यसभन्दा पहिले २१ माघ २०७९ मा सम्पन्न भएको थियो । त्यति बेला पनि नवलपरासी बर्दघाट नगरपालिका-४ निवासी ४१ वर्षीय आमाले २२ वर्षीय छाेरालाई मृगौँला दिएकी थिइन् ।