मोहनसिङ बुढा हुम्ला । सर्केगाड गाउँपालिका वडा नम्बर ३ का निवर्तमान वडा अध्यक्ष गज बहादुर रावतको सवारी दुर्घटनामा परि निधन भएको छ । नेकपा(माओवादी केन्द्र) हुम्ला जिल्ला समन्वय समिति सल्लाहकार सदस्य समेत रहेका रावतको बिहीबार राति निधन भएको हो । उनको प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
५६ वर्षीया रावत बिहीबार बिहान ६ बजे जेब्रा क्रसिङ गर्ने क्रममा अटोले ठक्कर दिएर गम्भीर घाइते भएका भएका थिए । उनको बिहीबार १ बजे राति निधन भएको जिल्ला पार्टी संयोजक डा.दीपेन्द्र रोकायाले जानकारी दिए । २०५४ सालदेखि तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा होमिएका रावत निरन्तर पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए ।
सर्केगाड गाउँपालिका वडा न ३ का निवर्तमान अध्यक्षसमेत रहेका रावतको निधनले पार्टीका एक जना परिपक्व र इमानदार नेता गुमाएको र त्यसले पार्टीलाई अपूरणीय क्षति भएको डा. रोकायाले बताए । हालै मात्र नेकपा(माओवादी केन्द्र) हुम्लाको ताँजाकोट गाउँ कमिटी अध्यक्ष अकवीर खड्काको पनि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमै सवारी दुर्घटनामा परी निधन भएको थियो ।
संयोजक रोकायाले अकवीरको पीडा कम हुन नपाउँदै पुनः सवारी दुर्घटनामा आफ्ना अर्का होनहार नेताको मृत्युले आफूहरूलाई थप मर्माहत बनाएको र यी दुवै घटना शङ्कास्पद भएको जिकिर समेत गरेका छन् । डा.रोकायाले दुवै घटनाको छानबिन र उचित क्षतिपूर्तिको लागि पार्टीले माग गरेको समेत गरेको बताएका छन् । मृतक रावतको परिवार सुर्खेत नआएसम्म लासलाई बाहिर ल्याउन तथा पोस्टमार्टम गर्न नदिने बताएको छ ।