२०८३ वैशाख ८ , मंगलबार

कर्णालीका १४ हिरासतमा किन पुस्तकालय स्थापना गरिँदै छ ?



सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका १४ वटा हिरासतमा पुस्तकालय स्थापना गर्न लागिएको छ । यसका लागि सबै तयारी पूरा भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरू गरेको ‘कारागारलाई किताब’ अभियान अन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालयले १० जिल्लाका १४ कारागारमा पुस्तकालय स्थापना गर्न लागेको हो ।

यहाँका १० जिल्लामा १४ कारागारमा पुस्तकालय स्थापना गर्न लागिएको प्रदेश प्रहरी प्रमुख भीम प्रसाद ढकालले जानकारी दिए । उनले १५ दिनभित्र हरेक प्रहरी हिरासतमा पुस्तकालय स्थापनाका लागि परिपत्र जारी गरिएको बताए । प्रदेश प्रहरी प्रमुख ढकालको योजनामा १४ कारागारमा पुस्तकालय स्थापना गर्ने अभियान थालिएको थियो ।

जसमा कर्णालीका १० जिल्लाका र सुर्खेतको इलाका प्रहरी कार्यालय छिन्चु, सल्यानको इलाका प्रहरी कार्यालय थारमारे, सल्यानकै इलाका प्रहरी कार्यालय लुहाम र इलाका प्रहरी कार्यालय रागेचौरमा पुस्तकालय स्थापना गर्ने लागिएको छ । सबै जिल्ला प्रहरी कार्यालयले जिल्ला समन्वय समिति गठन गरेर पुस्तक संकलन गरेका छन् ।

यसमा स्थानीय प्रशासन, जनप्रतिनिधि, लेखक, साहित्यकार तथा सर्वसाधारणले पनि सघाएका छन् । ‘कैदीबन्दीलाई पनि बाहिरी संसारका विषयमा सकारात्मक सोचको विकास गर्न पुस्तक पढ्ने वातावरण बनाउन खोजेका हौँ,’ ढकालले भने । उनले पुस्तकालयमा विभिन्न व्यक्तिका जीवन संघर्ष, साहित्य, कथा, कविता, जेल जीवन, राजनीतिक विचार, सिद्धान्त, व्यवसायिक सीप, उत्प्रेरणा, सकरात्मक सोचका विषयमा लेखिएका पुस्तकहरु रहने बताए ।

कारागारमा प्रशस्त समय हुने र त्यसअनुसार काम नहुँदा कैदीबन्दी फुर्सदिला हुने गरेका छन् । जसले गर्दा नकारात्मक भावनाको विकास हुने गरेको उनको भनाइ छ । त्यो समय पुस्तक पढ्नमा लगाउने वातावरण बनाउन सके उनीहरूमा सकारात्मक भावनाको विकास हुने उनको विश्वास छ । कर्णालीमा नयाँ सोचका साथ पुस्तकालय स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । कैदीबन्दीले सजिलै पुस्तक लिएर पढ्न सक्ने गरी कारागारभित्रै पुस्तकालय स्थापना गर्न लागिएको हो ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रबार