२०८३ वैशाख ८ , मंगलबार

वीरेन्द्रनगरमा कृषि हाट बजार सुरु



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१० मा कृषि हाट बजार संचालनमा आएको छ । शुक्रवारदेखि वीरेन्द्रनगर १० मा कृषि हाट बजार संचालनमा आएको हो । १० लाख रकम लगानी गरेर संचालनमा ल्याइएको हाट बजारको शुक्रबार नगर प्रमुख मोहनमाया ढकालले उद्घाटन गरेकी छन् ।

उनले हाट बजार उद्घाटन गर्दै स्थानीय कृषि उपज बस्तु तथा सेवाको खपत एव उपभोक्तालाई सहज, सुलभ गुणस्तरिय दैनिक उपभोग्य समग्री उपलब्ध गराउने उद्देश्यले हाट बजार संचालनमा ल्याएको बताइन् । उनले हाट बजार नियमित संचालनमा जोड दिँदै नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर अगाडी बढिरहेको बताइन् । प्रमुख ढकालले स्थानीय उत्पादनलाई प्रवद्धन गर्न र विपन्न तथा किसान परिवारहरुको आर्थिक उन्नतीका लागि यो हाटबजारले सहयोग पुग्ने विश्वास लिएको बताइन् ।

उनले वडा नम्बर १ र २ लाई समेटेर समेत यस्तै कृषि हाटबजार संचालनमा ल्याउने योजना नगरपालिकाको रहेको बताईन् । नगरपालिकाले कृषि क्षेत्रबाट आत्मनिर्भर स्वरोजगार बनाउने नीति लिएको उनको भनाई थियो ।  कार्यक्रममा नगरपालिका उपप्रमुख निलकण्ठ खनालले पनि अहिले मानिसहरु किनेर खाने आफुहरुले उत्पादन नगर्ने प्रवित्तिमा रमाइरहेको भन्दै उत्पादनमा जोडिन आवश्यक रहेको बताए ।

यस्तै वीरेन्द्रनगर १० का वडा अध्यक्ष डिल बहादुर रखालले आफ्नो कार्यकालभरी कृषि क्षेत्रबाट समृद्धीको आधार तय गर्ने बताए । उनले विषादीयुक्त कृषिउपज महँगो मूल्यमा खरिद गर्नुपर्ने आम उपभोक्ताको बाध्यतालाई मध्यनजर गर्दै कृषि हाट संचालन गरेको वडा अध्यक्ष रखालले जानकारी दिए । हाट बजार सुरु भएपछि यहाँका बिक्रेता एवम् क्रेता दुबै खुसी भएका छन् ।

किसानले आफ्नो बारीमा उत्पादित कृषि उपज सिधैं हाटबजारमा बिक्री गर्न पाउनेछ भने खरिदकर्ताले पनि एकैथलोबाट खरिदगरी आफ्नो आपूर्ति गर्न पाउने भएपछि दुबै पक्ष खुशी देखिएका हुन् । कृषि हाट बजार संचालनमा आएसंगै कृषि बस्तु तथा सेवा उत्पादन र उपभोगकर्तालाई सुविधा हुनेछ । हाटबजार संचालनपछि आफना घरमा उत्पादित वस्तु बिक्रीका लागि डोकामा बोकेर घरघरै हिँड्नुपर्ने बाध्यता पनि छोटिएको छ ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रबार