मोहनसिङ बुढा, हुम्ला । नाम्खा गाउँपालिका–५ को नारा लेकमा बेवारिसे अवस्थामा भेटिएको लासको पोस्टमार्टम गरेको पाँच दिनपछि दाहसंस्कार गरिएको छ । हालसम्म लास कसको हो भन्ने पत्ता नलागे पनि प्रहरी र गाउँपालिकाको रोहवरमा शुक्रवार कर्णाली नदीमा दाहसंस्कार गरिएको हो ।
प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पोस्टमार्टम गरेको पाँच दिनसम्म पनि आफन्त कोही पनि पत्ता नलागेकाले प्रहरी र गाउँपालिकाको रोहवरमा लासको दाहसंस्कार गरिएको हो । लास पनि बेवारिसे र आफन्त पनि पत्ता नलाग्दा त्यतिकै राख्न सकिने अवस्था नभएकाले दाहसंस्कारको व्यवस्था गरिएको हो ।
लासको दाहसंस्कार गर्न नाम्खा, सिमिकोट र खुर्पानाथ गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । आफन्तलाई सम्पर्कमा आउन प्रहरीले सूचना जारी गरे पनि कोही सम्पर्कमा नआएपछि शुक्रवार दाह संस्कार गरिएको हो । नारा लेकको चोर लाग्नामा शव फेला पारे लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला अस्पताल सिमिकोट ल्याइएको थियो ।