
मोहनसिङ बुढा, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका ५ को याङचु बजारमा सुरक्षाकर्मीको संयुक्त प्रहरी टोलीले अवैध चिनिया रक्सी (झिनी) बरामद गरेको हो । अवैध चाइनिज मदिरा (रक्सी) बिक्री वितरण भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा झिनीगिन्टी ३ सय ६० बोतल बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
खुलेआम अवैध चिनिया रक्सी बिक्री वितरण भएकाले थप अनुसन्धान भइरहेको उपरिक्षेक भट्टराईले बताए । गाउँपालिकाको केन्द्र समेत रहेको याङचु बजारमा ३० कार्टुन अवैध मदिरा भेटिए पछि बिहीबार बरामद गरी शुक्रवार नष्ट गरिएको हो । चीनबाट भित्रने अवैध मदिरा सुरक्षा कढाई गरिएता पनि सुरक्षाको आँखा छलेर व्यापारीहरूले चोर नाकाबाट ल्याउने खुलासा भएको छ ।
चिनिया रक्सी सदरमुकाम सिमिकोटमा भित्र नसकेको तर सिमिकोट भन्दा बाहिरको गाउँ गाउँमा चिनिया मदिरा बिक्री वितरण भइरहेको छ । बरामद गरिएको रक्सीको ३ सय ६० बोतल प्रतिबोतल एक हजार का दरले जम्मा ३ लाख ६० हजार नष्ट गरेको छ । महामारीका कारण लामो समय पछि हिल्सा नाका खुले पछि अवैध चिनिया मदिरा भित्रिन थालेको हो । अवैध चिनिया मदिरा बरामद गरेको र कारबाही प्रक्रिया अगाडि बढाइएको प्रनाउ भट्टराईले बताए ।