२०८३ वैशाख ८ , मंगलबार

कर्णालीमा ६५ प्रतिशत रोपाइँ सकियो, सिँचाइको सुविधा नहुँदा आकाशे पानीकै भर



सुर्खेत । कर्णालीमा धान खेती हुने ४८ हजार एक सय ३३ हेक्टर जमिन मध्ये असारसम्ममा कुल ३१ हजार दुईसय ८६ हेक्टर जमिनमा ६५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्य मात्रामा रोपाइँ भए पनि पहाडी तथा भित्री मधेसका जिल्लामा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन ।

जसमा सबैभन्दा बढी जुम्लामा शतप्रतिशत रोपाइँ भएको छ भने सुर्खेतमा ५० प्रतिशत मात्रै रोपाइँ भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए । उनकाअनुसार दैलेखमा कुल धान खेती हुने जमिन ८ हजार ५ सय १२ हेक्टरमा ५५ प्रतिशत रोपाइँ सकिएको छ ।

यस्तै रुकुम पश्चिममा धान खेती हुने जम्मा ३ हजार ४८ हेक्टर जमिनमा ७५, जाजरकोटमा धान खेती हुने जम्मा ३ हजार ६५ हेक्टर जमिनमा ७०, सल्यानमा कुल ७ हजार ७२ हेक्टरमा धान खेती हुँदै आएकोमा हालसम्म ७५ प्रतिशत धान रोपाइँ सकिएको छ ।

यस्तै हिमाली जिल्ला डोल्पामा जम्मा २ सय ७६ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म ९०, मुगुमा ९ सय २१ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म ९०, कालिकोटमा जम्मा ३ हजार १९ हेक्टर जमिनमा ९० र हुम्लामा १ हजार २ सय ८४.१२ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म ९० प्रतिशत रोपाइँ सकिएको कठायतले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले समयमै पानी नपर्दा रोपाई हुनमा ढिलाइ भएको बताए । उनले यस पटक मौसम अनुकूल रहेका कारणले कर्णालीमा हालसम्म ६५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको जानकारी दिए ।

प्रवक्ता कठायतका अनुसार हिमाली जिल्लामा चैतमै धानको बिउ राख्ने र वैशाखमै रोपाइँ शुरू हुने गरेका कारण पनि ९० प्रतिशत रोपाई सम्पन्न भएको हो । कर्णालीका पहाडी जिल्लामा आकाशे पानीकै भरमा अधिकांश खेत रोपिने गरेका छन् । यो वर्ष ९५ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८० साउन २ गते मंगलबार