
रवि हमाल, मुगु । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित कर्णाली विशेष अभियान अन्तरगत मुगु जिल्लामा पनि सो अभियान सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुको आयोजना र छायानाथ रारा नगरपालिकाको सहकार्यमा मुगु प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँस अभियान सुरु गरिएको हो ।
अभियानले सबै नागरिकहरूलाई प्रहरी सेवामा सहज पहुँचको लागि प्रत्येक घरघरमा नजिकका प्रहरी युनिटहरूको फोन नम्बरसहित स्टिकर टाँस गरिएको छ । आइतबार अभियानको मुगु जिल्ला समन्वय प्रमुख मन्जन कार्की छायानाथ रारा नगर पालीका नगर प्रमुख विष्णु कुमार भाम, प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा, जिल्ला प्रहरी प्रमुख महेश बस्नेत,मुगु जिल्ला नागरिक समाज अध्यक्ष रूप बहादुर मल्लले शुभारम्भ गरेका हुन् ।
जिल्लाको जुनसुकै क्षेत्रमा बसिरहेका नागरिकहरूले कुनै शङ्कास्पद चिज वस्तुहरू थाहा पाएमा, देखेमा वा आफूले असुरक्षित महसुस गरेमा नजिकको प्रहरीसम्म तत्काल खबर दिन वा लिनको लागि अन्य व्यक्तिहरूको सहारा लिन नपरोस् र आफैँ टेलिफोनमार्फत प्रहरीमा सिधा कुरा पुर्याउन सहयोग हुने अपेक्षा गरिएको छ ।
नागरिकहरूको सूचना बमोजिम नजिकको प्रहरी छिटो भन्दा छिटो घरघरमा पुगी आवश्यक सुरक्षा पुर्याउन सकियोस्, अपराधिक गतिविधिहरु निरुत्साहित गर्न सकियोस् र नागरिकहरूलाई अझ नजिकबाट सेवा दिन सकियोस् भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको प्रहरीले जनाएको छ।
नागरिकलाई सुरक्षाको अनुभूति दिन अभियानलाई जिल्लाभरी नै लागू गरिने र जिल्ला भित्रका ९ हजार भन्दा बढी घरधुरीहरूमा प्रहरीको फोन नम्बर भएको स्टिकर प्रत्येक घरहरूको मूल ढोकामा टाँस गरिनेछ। स्टिकर टाँस अभियान सञ्चालन गर्न स्थानीय तह सँग आवश्यक समन्वयबाट गरिने प्रहरीले जनाएको छ ।