
कुलेन्द्र शाही, सुर्खेत । यति बेला सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भएको छ । उक्त भिडियो भाइरल भएपछि विभिन्न खाले प्रतिक्रियाहरू आइरहेका छन् । सुर्खेत वीरेन्द्रनगरमा-९ मा रहेको आदर्शराज मेमोरियल इङ्लिस माध्यमिक विद्यालयकी प्रिन्सिपल एक हप्ता अगाडि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा गइन् । उनी आफ्नो नागरिकताको प्रतिलिपि बनाउन गएकी थिइन् । प्रशासनमा उनी एक्लै नभई उनका छोरासमेत लिएर गएकी थिइन् ।
नागरिकता बनाउनलाई उनी प्रशासनमा पुगेपछि नागरिकता बनाउने फाटको जिम्मेवारीमा थिए उनले पढाएको विद्यार्थी प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर थापा । विद्यार्थी कालमा पढाएका व्यक्ति प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा देखेपछि शिक्षिका कल्पना बोहोरा कार्की दङ्ग परिन । उनले थापालाई हेरिरहिन । प्रशासन कार्यालय पुगेपछि मैले नै कक्षा १२ सम्म पढाएको आफ्नो विद्यार्थी प्रशासकीय अधिकृतको रूपमा भएको देखे । सानो उमेरमा ठुलो प्रगति गरेको देख्दा एकदम खुसी लाग्यो ।
हामी शिक्षकहरूका लागि यो भन्दा ठुलो खुसी र गर्वको कुरा अरू केही पनि हुने रहेनछ ।’ उनले खुसीले गद्गद् हुँदै सूर्यसँग आधा घण्टा भन्दा बढी बसेर गफगाफ गरेको बताइन् । उनले सूर्यले लोकसेवामा नाम निकालेको आफूले थाहा पाएको तर यही प्रशासनमा भएको भन्ने थाहा नपाएको जानकारी दिइन् । उनले भनिन् ‘कक्षा १२ सम्म मैले पढाएको हो त्यसपछि उनले लोकसेवामा नाम निकालेको कता कता सुनेको थिए,

तर, यही सुर्खेतमा छन् भन्ने थाहा थिएन्, प्रशासन गएको बेला एक्कासि देख्दा म चकित परे, मैले नै पढाएको विद्यार्थीले यति धेरै प्रगति गरेनछ ।’ उनले थपिन् ‘हाम्रो कहिलेकाहीँ कुरा त हुन्थ्यो, मेरो श्रीमान् दुई वर्ष अगाडि कोरोना लागेर बित्नुभएको थियो, त्यति बेला पनि व्यस्त भएर आउन पाउँदिन भनेका थिए, हाम्रो सौभाग्य प्रशासनमा भेट भयो, निकै खुसी छु,
उनलाई देखेपछि भित्री मनदेखि नै खुसी भएर भिडियो बनाए, फोटा खिचे, अनि टिकटकमा राखेको एकाएक भाइरल भएछ, यसरी भाइरल हुन्छ भन्ने सोचेकै थिएन् ।’ कल्पनाले केही वर्ष अगाडि सूर्यबहादुर थापालाई आदर्श विद्यालयमा निरन्तर दुई वर्षसम्म पढाएकी थिइन् । सूर्यले विज्ञान विषय लिएर आदर्श विद्यालयमा कक्षा ११ र १२ पढेको थिए । उनी विद्यालयमा पढ्दै गर्दा पनि निकै मेहनती र लगनशील थिए ।
उनले हँसिलो र ठट्यौली पारामा भने, ’पहिले उहाँले पढाउँदै गर्दा हाम्रो गृहकार्यमा हस्ताक्षर गर्नुहुन्थ्यो, अस्ति मैले गरे, त्यो भन्दा ठुलो र मेरो लागि सौभाग्य के हुन सक्छ ।’ उनले म्याम सेवाग्राही भएर आउँदा आफू निकै नै खुसी भएको बताए । सुर्यले सरकारी निजामती क्षेत्रमा प्रवेश गरेको करिब ७ वर्ष भएको छ ।
