
रुकुम पश्चिम । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले शाखामा आवद्ध साधारण सदस्यहरु तथा जिल्लामा क्रियाशील पत्रकारको दुर्घटना बीमा गरेको छ । समाचार संकलनका क्रममा विभिन्न जोखिमहरु मोलेर फिल्डमा खटिने भएकाले जिल्लाका ५४ जना पत्रकारको दुर्घटना बीमा गरिएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्षमण केसीले जानकारी दिए ।
मुसिकोट नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न सञ्चारमाध्याममा कार्यरत पत्रकारहरुको दुर्घटना बीमा गरिएको उनले बताए । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा ५४ जना पत्रकारको ५४ लाख बराबरको दुर्घटना बीमा भएको छ ।
यस कार्यले जोखिमपूर्ण अवस्थामा पत्रकारिता गरिरहेका पत्रकारलाई कामका लागि थप प्रोत्साहन हुने विश्वास लिइएको अध्यक्ष केसीको भनाइ छ । नयाँलाई आकर्षण र क्रियाशील पत्रकारलाई यस पेशामा टिकाउनका लागि शाखाले दुर्घटना बीमाको कार्यक्रम अघि सारेको उनको भनाइ छ ।
बीमाको समयावधि १ वर्षको रहने छ । एक वर्षको विचमा कुनैपनि पत्रकार दुर्घटनामा परेमा बीमा वापतको रकम प्रदान गरिने शिखर इन्स्योरेन्सका रुकुम पश्चिम शाखा प्रमुख भद्रबहादुर खड्काले बताए ।
उनकाअनुसार १ वर्षको विचमा दुर्घटनामा परी बीमा गरेका कुनैपनि पत्रकारको मृत्यु भयो भने परिवारका सदस्यलाई बीमा वाफतको १ लाख रुपैयाँ दिइने छ भने चोटपटक लागेमा बढीमा एक लाखसम्मको उपचार खर्च उपलब्ध गराइने छ ।