२०८३ वैशाख ८ , मंगलबार

विद्युत् प्राधिकरणद्वारा लेकवेशीमा सार्वजनिक सुनुवाइ सम्पन्न



सुर्खेत । नेपाल विद्युत् प्राधिकरणद्वारा प्रस्तावित झुप्रा सहयोग विद्युत् आयोजना प्रारम्भिक प्रतिवेदन तयारीको सिलसिलामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरण, वातावरण तथा सामाजिक अध्ययन विभागको आयोजनामा शनिवार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चुनिया पानी-१० स्थित विद्यालयको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले आयोजना निर्माण गर्दा स्थानीय जनप्रतिनिधि तथा सरकारवालाहरूबाट साथ सहयोग हुने बताए । साथै शिक्षा, स्वास्थ्य, रोजगारी र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन विशेष प्राथमिकता दिनुपर्ने उनले बताए ।

यस्तै, कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण काठमाडौँबाट आएका आयोजना प्रमुख प्रकाश रावत र प्रबन्धक मिलन दाहाल स्थानीय तथा जनप्रतिनिधिसँग आयोजनाका प्राविधिक तथा वातावरणीय पक्षका बारेमा जानकारी दिए । आयोजनाको जडित क्षमता दुई मेगावाट र वार्षिक करिब ३८ लाख युनिट उत्पादन हुने बताइएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् वीरेन्द्रनगर स्थित ३३ केभी सबस्टेशनमा जोडी त्यहाँबाट सुर्खेत जिल्लामा वितरण हुनेछ । नेपाल विद्युत् प्राधिकरणले हाल बन्द रहेको झुप्रा खोला साना जलविद्युत आयोजनाको पावर हाउस क्षेत्रमा खाली रहको जमिनलाई सदुपयोग गर्दै सौर्य विद्युत् आयोजना निर्माण गर्न लागेको हो ।

हाल नेपाल सरकारको दश प्रतिशत विद्युत् उत्पादन सौर्य ऊर्जाबाट गर्ने नीति अनुरूप प्राधिकरणले देशैभरि विभिन्न सोलार आयोजनाहरूको निर्माण कार्य अगाडि बढाएको छ । झुप्रा सोलार आयोजनाको कुल अनुमानित लागत ५३ करोड रुपैयाँ रहेको छ ।

जर्मन सरकारको अनुदान सहयोगमा यस आयोजना अघि बढाउन लागिएको हो । यसै आर्थिक वर्षबाट आयोजनाको ठेक्कापट्टा भई निर्माण कार्य सुरु गर्ने र निर्माण कार्य सुरु भएको मितिले १२ महिनाभित्र आयोजना सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : २०८० साउन ७ गते आइतबार