
कुलेन्द्र शाही, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर १० बाट दैलेख रोड जाने सडक कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनीले म्याद सकिँदासम्म कालोपत्रेको काम थालेको छैन । उक्त सडकमा चार महिनादेखि निर्माण व्यवसायी काममा नफर्कँदा यात्रुलाई सास्ती भएको छ । भौतिक पूर्वाधार अन्तरगत सडक डिभिजन कार्यालय सुर्खेतको ४ करोड १० लाख ९७ हजार ३ सय ७१ रुपैयाँमा नाञ्जिला आकाँक्षा एण्ड मजदुर जेभी सुर्खेतसँग २०७८ साल कार्तिक ११ गते सम्झौता भएको थियो ।
ठेक्का सम्झौताअनुसार १० असार २०७९ सम्ममा सो सडक विस्तारको काम सकाउनुपर्ने थियो । तर, समयमै काम सम्पन्न नभएपछि पुनः म्याद थप गरिएको थियो । थपिएको म्यादसमेत २०८० असार मसान्तमा सकिसकेको छ। यसरी दुई वर्षमा सडक कालोपत्रे सक्ने गरी दैलेख रोडबाट कालिन्चोक जाने करिब ६०० मिटर सडक सडक कालोपत्रेको जिम्मा पाएको नाञ्जिला आकाँक्षा एण्ड मजदुर जेभी कामको लागि चार महिनादेखि काममा फर्किएको छैन ।
ठेक्काको म्याद २०८० साल जेठ ३० गते सकिए पनि हालसम्म निर्माण व्यवसायी काममा नफर्किँदा निर्माणाधीन सडक अलपत्र छ। सडक कालोपत्रे भइसक्ने समयमा बल्ल निर्माण व्यवसायी सम्पर्कमा आएर म्याद थप्ने गरी प्रक्रियामा गएको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर रामकृष्ण थारुले बताए ।
“सडक निर्माणमा ढिलाइले आफूलाई लाज समेत लाग्ने गर्दछ, निर्माण व्यवसायीले विभिन्न बहना बनाउँदै काम गर्न नसकेको बताएको छ, म्याद सकिएको यति दिन भइसक्यो, अझै काम थालेको छैन, सडकको जम्मा ४० प्रतिशत मात्रै काम भएको देखिन्छ”, उनले भने । निर्माण व्यवसायीले काम सुरु गर्नको लागि ४ लाख भन्दा बढी रकम दिएर अन्यसँग सम्झौता गरिसकेको उनले बताए ।
उनले मन्त्रीपरिषद्को बैठकले म्याद थप्ने निर्णय गरेकोले अब केही समयमै काम सम्पन्न गर्ने आश्वासन उनले दिएको थारुले बताए। कालोपत्रेका लागि पूर्वाधार निर्माणतर्फ ४० प्रतिशत भन्दा बढी काम सकिएको निर्माण व्यवसायीको दाबी छ । असार मसान्तसम्म काम सक्ने लक्ष्य भएको भए पनि मौसमका कारण काम गर्न नसकिएको निर्माण व्यवसायी विनीत पन्तको भनाइ छ ।
“पूर्वाधारको काम हुँदै थियो, असार मसान्तमा म्याद सकियो म्याद थप गर्ने सहमति गर्ने भन्ने कता कता सुनिएको छ, थप भएपछि काममा फर्कन्छौँ, अहिले केही समस्याले वीरेन्द्रनगरभन्दा बाहिर छु,“उनले भने ।
सडक डिभिजन कार्यालय सुर्खेतको लाचारी
केही दिनअघि खबरदृष्टिसँगको कुराकानीमा कार्यालयका इन्जिनियर थारुले निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्न नसकेमा कारबाही गर्ने बताएका थिए । तर, कार्यालयले त्यस सन्दर्भमा कुनै पनि एक्सन लिन सकेको छैन, बरु उल्टै कार्यालय डराएको देखिएको छ । इन्जिनियर थारुले कानुनी प्रक्रिया भन्दा पनि सम्झाई बुझाई गरेर काम गर्न लगाउने बताएका छन् ।
“हामीले पनि ठेक्का तोड्न, मिल्दैन, यदि हामीले ठेक्का तोडेमा, भोलि उसले मुद्दा हाल्न सक्छ, मुद्दा हाल्यो भने पनि समस्या हुन्छ, अरूलाई ठेक्का दिने हो भनी पनि उत्तिकै समय लाग्छ, बरु कसरी हुन्छ, फकाएर काम गर्न लगाउँछु,“ उनले भने । ठेक्का तोड्दा अर्को आह्वान गर्दासम्म धेरै जटिलता हुनेभएकोले अझै नागरिकहरूले सास्ती खेप्नुपर्ने उनको भनाइ छ।
इन्जिनियर थारुले थपे, “बरु दशैंसम्म काम सक्ने गरी लाग्नुहोस् भनेर निर्माण व्यवसायीलाई अनुरोध गरिरहेका छौँ । सम्भवतः दशैं अगाडिसम्म कालोपत्रेको काम सम्पन्न हुन्छ होला ।“ मन्त्रीपरिषद्को निर्णयले म्याद थप गर्ने निश्चित भएकोले काम दशैसम्म सकिनेमा उनी आश्वस्त देखिएका छन् ।
किन काम बिचमै अड्कियो ?
सडक निर्माणको सुरुवातमा विद्युत् पोल र रुखको अवरोध देखाएको थियो । उक्त बहाना उसको पुरानो भएपछि उसले मौसम र सामानप्रति आरोप थुपारेको छ । निर्माण व्यवसायीले कालोपत्रे नगर्दा सामाजिक सञ्जालमा चर्को आलोचना बढ्दो छ । सुरुमा १४ मिटर चौडाइ कालोपत्रे गर्ने भनिए पनि पछि १९ मिटर पु¥याउनु पर्ने स्थानीयको माग थियो।
‘सुरुमा पोल र रुखको कारणले म्याद थप गरियो, पछि नाला निर्माणमा पनि विवादै भयो,’ कार्यालयका इन्जिनियर थारुले भने, ‘सबै समस्या समाधान गर्दा पनि निर्माण व्यवसायीले कालोपत्रे गर्नुहोस् भनिरहेकै बेला वर्षात् लाग्दा काम रोकियो ।’ हाल निर्माण व्यवसायीले सामग्री अभावको कारण देखाइरहेको छ । तर, कार्यालयले असारमै काम सक्न ताकेता गर्दा पनि निर्माण व्यवसायीले चालु आर्थिक वर्षको चैतसम्म म्याद थपको लागि निवेदन दिएको छ ।
सोही निर्माण व्यवसायीले दैलेख सडक खण्डको वीरेन्द्रनगरस्थित शिवालय चौकबाट कपासे चौकसम्मको ९०० मिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको छ । सडकको दुवैतर्फ तीन/तीन मिटर कालोपत्रे गर्ने गरी कार्यालयले ठेक्का गरेको छ । उक्त काम पनि अलपत्र अवस्थामा रहेको कार्यालयको भनाई छ ।
कामै सम्पन्न नगरी १ करोड रकम भुक्तानी
कार्यालयले ४ करोड १० लाख ९७ हजार ३ सय ७१ रुपैयाँ लागतमा नाञ्जिला आकाँक्षा एण्ड मजदुर जेभी सुर्खेतसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार केही समय निरन्तर काम भए पनि चैत्रबाट यता काम रोकिएको इन्जिनियर थारुले बताए ।
निर्माण व्यवसायीले हालसम्म १ करोड ६३ लाख ८९ हजारको रुपैयाँ भुक्तानीसमेत लिइसकेका छन् । उनले ८ मङ्सिर ०७८ मा १७ लाख ९९ हजार र २२ पुस ०७८ मा १७ लाख ९९ हजार गरी कुल ३५ लाख ९८ हजार पेश्की लिएका छन् । उनले हालसम्म कुल लिएको रकम १ करोड ९९ लाख ८७ हजार रहेको थारुले जानकारी दिए ।