
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा सदस्यहरू बिच सिकाई उपलब्धि तथा अनुभव आदान प्रदान कार्यक्रम गरिएको छ । बिहीबार नगरपालिकामा अस्ट्रेलियन सरकार र द एसिया फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालित स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तरगत नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
दलित महिला केन्द्र नेपालको सहजिकरणमा भएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका वडा सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा वडा सदस्यहरूबिचको सिकाई उपलब्धि, चुनौती तथा समस्या समाधान सम्बन्धी अनुभव आदान प्रदान सँगै छलफल समेत गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी वडा सदस्यहरूले सिकाई उपलब्धि साटासाट गर्नु भएको थियो ।
कार्यक्रममा स्थानीय सरकार सबलीकरण कार्यक्रम प्रभावकारी भएको कार्यक्रमका सहभागीहरूले बताएका छन् । जनप्रतिनिधिमा निर्वाचित भइसक्दा पनि खुलेर बोल्न नसक्ने अवस्था रहेकोमा यस कार्यक्रमले महिलाको आत्म विश्वासमा वृद्धि भएको सहभागीहरूको भनाई थियो । वडामा आएका हरेक अवसरहरूमा महिला जनप्रतिनिधीहरुलाई पनि समावेश गर्ने विकास भएको सहभागीहरूको भनाई थियो ।
वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले यस कार्यक्रमले महिला जनप्रतिनिधीहरुको क्षमता विकासमा टेवा पुगेको बताइन् । आगामी दिनमा पनि यस्ता प्रकारका कार्यक्रमहरूको आवश्यकता रहेको नगर प्रमुख ढकालले जिकिर गरिन् । कार्यक्रममा द एसिया फाउन्डेसनका कर्णाली प्रदेश कार्यक्रम संयोजक विशाल आचार्य, दलित महिला केन्द्र नेपालका सुर्खेत कार्यक्रम संयोजक धर्मा सुवेदी, दलित महिला केन्द्र नेपालकी मेन्टर सिता नेपाली लगाएको सहभागिता रहेको थियो ।