२०८३ वैशाख ८ , मंगलबार

प्रभावकारी सेवा प्रवाहका लागि जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण



सुर्खेत । नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवालाई जनमैत्री बनाउन जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण दिइएको छ । वीरेन्द्रनगर नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका लागि नेतृत्व विकास, सकरात्मक सोच र नगरपालिका सञ्चालन विधिसम्बन्धी प्रशिक्षण शुक्रबारदेखि शुरु गरेको हो ।

स्थानीय सरकारले आफ्ना नागरिकहरुलाई प्रभावकारी, छिटोछरितो कसरी सेवा प्रवाह गर्ने र सामुहिक जवाफदेहिता बनाउन प्रशिक्षणको आयोजना गरिएको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । उनकाअनुसार सकरात्मक सोच, समूह गतिशिलता र सामुहिक निर्णय लगायतका विषयमा जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणमा मुख्यगरी संघीय लोकतान्त्रिक संविधान र स्थानीय सरकार तहगत सरकारको समन्वय तथा अन्तर सम्बन्ध विश्व अभ्यास र नेपालका विषयमा पनि सहजकर्ताले सहजिकरण गरेका छन् । यस्तै, योजना तर्जुमा, बजेट प्राथमिकीकरण तथा कार्यान्वयन सीप, स्थानीय सरकारको अधिकार र कानून निर्माण प्रक्रिया तथा अभ्यास र व्यक्तित्व विकास, आत्म विकास, नेतृत्व सीप, नैतिकता र सदाचारका विषयमा संविधान विद्, स्थानीय शासन विज्ञ र पूर्व प्रमुख सूचना आयुक्तले जनप्रतिनिधि र कर्मचारीहरुलाई प्रशिक्षित गराएका छन् ।

उनीहरुले स्थानीय सरकारका पदाधिकारीको काम, कर्तव्य र अधिकार, न्यायिक समितिको न्याय सम्पादन र असल अभ्यासको अनुभव आदनप्रदान र नगरपालिकाको काम कारवाहीलाई उत्कृष्टतामा रुपान्तरित गर्ने सूत्रहरु अर्थात् स्वमूल्यांकन प्रणालीको विषयमा पनि जानकारी गराइएको नगरप्रमुख ढकालले बताइन् ।

प्रशिक्षण कार्यक्रम शनिवारसम्म सञ्चालन गरिनेछ । प्रशिक्षणमा संविधानविद् काशीराज दाहाल, स्थानीय शासन विज्ञ डा. सीता ढुंगाना र पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले जनप्रतिनिधि र कर्मचारीहरुलाई प्रशिक्षित गराइरहेका छन् । कार्यक्रममा नगरपालिकाका १६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव, कर्मचारी लगायतको सहभागिता छ ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रबार