जाजरकोट । यति बेला सामाजिक सञ्जालमा निकै आलोचना खेपिएको विषय छ, जाजरकोटको कुशे गाउँपालिकामा भएको एउटा बलात्कार घटना, जाजरकोटको कुशे गाउँपालिकामा गत ७ साउनमा घरमा कोही नभएको मौका छोपी कुशे गाउँपालिका–८ का ३० वर्षीय दीपक रोकायले वर्ष १५ कि एक बालिकालाई बलात्कार गरेका थिए ।
बालिकाका बुवा गोठालो गएको र आमा उपचारका लागि भारतको हिमाञ्चल गएको बेला बालिकामाथि बलात्कार भएको आफन्तले बताएका छन् । बालिका बलात्कार भएपछि प्रहरीले नै ई–कोन (आकस्मिक गर्भनिरोधक चक्की) खानु भनेको अडियो निकै चर्चामा पुगेको छ । कुशे गाउँपालिकामा ति बालिका बलात्कृत भएको र बालिकाको पेटमा बच्चा रहन सक्ने भन्दै ई–कोन खान अडियो रेकर्ड गरिएको भिडियोमा भनिएको छ ।
बालिकाको पेटमा बच्चा रहन सक्ने भन्दै प्रहरीले नै ई–कोन खान भनेपछि प्रहरीको बारेमा धेरै नै टिप्पणी भएको छ । तर, यसरी बालिकालाई ई–कोन खान कुन प्रहरीले भनेको भन्ने हालसम्म पनि पुष्टि हुन सकेको छैन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटले घटना भएपछि कार्यालयमा जबरजस्ती करणीमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ ।
घटनामा संलग्नविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । तर, उनी अझै पक्राउ पर्न सकेका छैनन । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष रोकाले बालिका बलात्कृत भएको र घटनामा संलग्न आरोपीको खोजीकार्य जारी रहेको बताए । पीडित पक्षले कुशे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले ‘गाउँको कुरा हो गाउँमै मिलाउँ’ भन्दै प्रहरीकहाँ नजान दबाब दिएको समेत आरोप लगाएका छन् ।
यता गाउँपालिकाले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै जाजरकोटमा बालिका बलात्कृत शीर्षकको समाचारमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको नाम जोडेर भ्रामक समाचार प्रकाशन गरिएको भन्दै गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । गाउँपालिकाले उक्त घटना मिलाउन आफूहरुले कुनै पनि दबाब नदिएको बताएको छ । आफुहरु उक्त समयमा कामको सिलसिलामा जिल्ला बाहिर भएको अवस्थामा घटनाबारे समाचार आएपछि मात्रै सामाजिक सञ्जाल मार्फत जानकारी पाएको र उक्त आरोपमा कुनै सत्यता नभएको समेत गाउँपालिकाको विज्ञप्तीमा भनिएको छ ।