
सुर्खेत । यतिबेला पशुमा लाग्ने रोग लम्पी स्किन देशैभर महामारीका रूपमा फैलिरहेको छ । सातै प्रदेशमा लम्पी स्किनका कारण हजारौँ पशु सङ्क्रमित भएका छन् । तीन वर्षअघि नेपालमा पहिलोपल्ट देखा परेको यो रोगको उत्पत्ति अफ्रिकामा १० वर्ष भएको मानिएको छ । क्याप्री पक्स नामक भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने प्रचलन समेत रहेको छ ।
यसको प्रभाव कर्णालीमा पनि निकै रुपमा देखिएको छ । यस रोगबाट कर्णालीका १० जिल्लामा गरी करिब दुई लाख हाराहारीमा पशुवस्तु संक्रमित भएका छन् । तर, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला भने बन्द भएको छ । केन्द्र सरकारले बजेट नै विनियोजन नगरेपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले सबै सेवा बन्द गरेको हो ।
संघ सरकार मातहतमा रहेको प्रयोगशालाका लागि चालु आर्थिक वर्षमा कुनै पनि शीर्षकमा बजेटको व्यवस्था नभएपछि सेवा नै बन्द भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सकसमेत रहेका सूचना अधिकारी डा.जीतेन्द्र श्रेष्ठले जानकारी दिए ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार संस्थागत संरचना अन्योलताका कारण यस पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, वीरेन्द्रनगर सुर्खेतका लागि कुनै पनि शीर्षकमा कुनै पनि बजेटको व्यवस्था नरहेको हुँदा यस प्रयोगशालाबाट प्रवाह गरिने सबै प्रकारका सेवा मिति २०८० साउन १५ गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि प्रदान गर्न असमर्थ रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ । साथै सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कार्यालय परिवार क्षमाप्रार्थी छौँ,’ सोमबार कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।
संघीय सरकारबाट कर्णालीका १० जिल्ला र लुम्बिनी प्रदेशका ६ गरी १६ जिल्लाको जिम्मेवारी पाएको प्रयोगशालाका लागि कुनै पनि शीर्षकमा बजेटको व्यवस्था नगरेपछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको सूचना अधिकारी डा. जितेन्द्र श्रेष्ठले जानकारी दिए । संघ सरकारले चालु आर्थिक वर्षका लागि बजेट नपठाउँदा प्रयोगशालाको कार्यक्षेत्रभित्र पर्ने कर्णाली र लुम्बिनी प्रदेशका १६ जिल्लामा प्रवाह गरिँदै आएका (मौखिक परामर्श लगायत खर्च नलाग्ने) सेवाबाहेक अन्य सम्पूर्ण सेवा सोमबारदेखि बन्द गरिएको डा. श्रेष्ठले बताए ।
अहिले पशुपन्छीमा लम्पी स्किनलगायतका रोगले महामारीको रूप लिएको अवस्थामा प्रयोगशाला बन्द गर्नुपर्ने अवस्था आएपछि यसको गम्भीर असर पर्ने श्रेष्ठ बताउँछन् । पशु तथा पशुजन्य पदार्थको उत्पादन र उत्पादकत्व वृद्धिको लागि बिभिन्न रोगहरू बाधक हुने हुँदा पशुपन्छीजन्य रोगहरूलाई नियमित सर्भिलेन्स तथा प्रयोगशाला परीक्षण गरी समयमै औषधि, उपचार तथा रोकथामका विधिहरू अपनाई रोग उन्मुलन गर्ने उद्देश्यले प्रयोगशालाको स्थापना गरिएको हो ।
असार ३१ गतेसम्ममा कर्णालीका १० जिल्लाका गरी करिब ८ हजार बढी पशुको लम्पीस्किन रोगबाट मृत्यु भएको छ । पशुपन्छी विकास निर्देशनालयका निर्देशक कृष्ण प्रसाद पङ्गेनीका अनुसार कर्णालीका १० जिल्ला गरी ८ हजार ७ सय ६३ पशुको मृत्यु भएको छ । यस्तै, कर्णालीमा उक्त रोगबाट २ लाख १७ हजार १ सय ३५ पशु सङ्क्रमित भएका छन् । यसमध्ये १ लाख ३७ हजार ६ सय ९४ पशुको उपचार गरिएको र १२ हजार ४ सय ४३ पशुलाई खोप लगाइएको छ ।