
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ । अज्ञात समूहद्वारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्येका १६ वटा सिँढी तोफफोड भएको हो ।
हिन्दूहरुको पवित्र शक्तिपीठसँगै मन्दिर जन्माउने मन्दिरका रुपमा परिचित त्रिपुरासुन्दरीमा शृङ्गखलाबद्ध रुपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताए ।
विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका १६ वटा सिँढीका ढुङ्गाहरु हथौडा प्रयोग गरेर तोडफोड भएको उनले जानकारी दिए । यस्तो किसिमको गलत काम कुनै धर्म विरोधी तत्वको हुनसक्ने भएकाले पत्ता लगाउन कानुनी रुपमा अघि बढ्नाका साथै स्वयं जगत् जननी मातासँग पनि भाकल गरिएको समेत उपाध्यायको भनाइ छ ।
सिँढी किन र कसले फुटायो थाहा हुन नसकेको र अनुसन्धानका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको उनको भनाई छ । यसअघि पनि यो मन्दिरका सिँढी तोडफोड भएका थिए ।