२०८३ वैशाख ८ , मंगलबार

महिला मृत घटना : कुकुरसहितको टोलीद्वारा अनुसन्धान सुरु



रुकुम पश्चिम । मुसीकोट नगरपालिका –१ सल्लेस्थित घरमा मृत अवस्थामा भेटिएकी महिलाको घटना अनुसन्धानका लागि ल्याएको तालिमप्राप्त कुकुर सहितको प्रहरी अनुसन्धान टोलीले काम सुरु गरेको छ । सल्लेकी ५२ वर्षिया हस्तकली बुढाथोकी शुक्रबार राती आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि अनुसन्धानको लागि प्रहरीले तालिम प्राप्त कुकुर मगाएको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान टोलीसँगै आएको एक तालिमप्राप्त कुकुर समेतको सहभागितामा अनुसन्धान कार्य तिब्र पारिएको जिल्ला जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले बताए ।

शुक्रबार राती नेपालगञ्जबाट आउनुभएकी मृतककी भदैनीले घरमा ताला लगाएको र फोन नउठेपछि स्थानीयलाई सोधपुछ गरेका थिए । शंकास्पद लागेर उहाँ सुत्ने कोठाको ताला फोड्दा बुढाथोकी कोठा भित्रै मृत अवस्थामा भेटिएकी थिइन् ।

घरमा रहेका सबै कोठाहरु ताला लगाईएको अवस्थामा बुढाथोकी मृत अवस्थामा भेटिएकोले हत्या भएकोले हुनसक्ने बताईएको छ । यद्यपी प्रहरीले घटना अनुसन्धानकै क्रममा रहेको जनाएको छ । उनका जेठा छोरा नेपालगञ्ज र कान्छो छोरा जापान रहेकोले घरमा एक्लै बस्दै आएका छन् ।

यसै बिच रुकुम पश्चिमका अधिकारकर्मीहरुले महिलाको घरभित्रै मृत्यु भएको बिषयमा सत्यतथ्य छानबिन र कारबाहिको माग गरेका छन् । आइतवार एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै अधिकारकर्मीहरुले महिला माथी हुने यस्ता खालका घटनाले मानव अधिकारको घोर उल्लंघन भएको उल्लेख गरेका हुन् ।

महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष ब्युझना पुन देवकोटा, ओरेक नेपालका जिल्ला कार्यक्रम संयोजक दिपा धिताल, हरप्लेस नेपालका सदस्य मनिषा केसी, अन्तरपार्टी सञ्जालका सदस्य बसन्ती परियार र सहकर्मी समाजका सदस्य माया बोहराद्वारा जारी ध्यानाकर्षण पत्रमा नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन राज्यसँग माग गरिएको छ ।

364455082_1052912825675190_3360130506048465631_n1691247986.jpg

प्रकाशित मिति : २०८० साउन २१ गते आइतबार