
सुर्खेत । पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले कर्णालीमा लगाइएको हवाई प्रतिबन्ध ३ दिनभित्र फुकुवा गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार कर्णाली प्रदेशका प्रतिनिधिसँगको छलफलमा मन्त्री किराँतीले नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कर्णालीमा लगाएको हवाई प्रतिबन्ध ३ दिनभित्र फुकुवा गर्ने बताएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडामा बन्देज लगाउने निर्णय गरेका करण एक सातदेखी कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प भएको छ । अस्पतालले रिफर गरेर पनि हवाइजहाज र हेलिकप्टर नजाँदा हुम्लामा ४ बालबालिकाको मृत्यु समेत भएको छ ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा कर्णालीका सांसद, राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र पर्यटन व्यवसायीले मन्त्री किरातीलाई भेटेर समस्या अवगत गराएका थिए । मन्त्रालयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि सहभागी थिए । छलफलमा जुम्लाकी सांसद छिरिङ लामा, प्रदेश सांसद कलबहादुर हमाल, पूर्वमन्त्रीहरू मोहन बानिया, छ्क्कबहादुर लामा, दल रावल, कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकाया लगायत सहभागी थिए ।