सुर्खेत । सल्यानमा अटो दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–५ लामिखोलास्थित भित्री कच्ची सडक खण्डमा रा १ ह ३९३० नम्बरको अटो बुधवार साढे ४ बजेतिर दुर्घटना हुँदा छत्रेश्वरी गाउँपालिका–४ आकाशे बस्ने ५१ वर्षीय ठगी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
त्रिवेणी गाउँपालिकाको लुहाम बजारबाट वडा ५ को ढोडचौर जाँदै गरेको अटो दुर्घटना हुँदा उनकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले बताए । उनकाअनुसार दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि त्रिवेणी गाउँपालिकाको लुहाम लगिएको छ । अटो चालक त्रिवेणी गाउँपालिका–५ लामिखोला बस्ने वर्ष २८ का रामबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अटो उकालो चढ्न नसकी ब्याक भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।