सुर्खेत । कर्णाली प्रदेशमा डेंगु सङ्क्रमणको जोखिम उच्च रहेको छ । कर्णालीका ६ जिल्लामा हालसम्म २२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीका हिमाली जिल्लामा समेत यो रोग देखिएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले लामखुट्टेको टोकाइबाट सर्ने र संक्रमण हुने रोगहरू हिमालमा पनि देखिन थालेको बताए ।
उनले चिसो मौसमका कारण विगतमा हिमाली क्षेत्रमा नदेखिने रोगहरू हिजोआज हिमाली जिल्लामा समेत देखिन थालेका बताए । तापक्रम वृद्धि भएसँगै हिमालमा पनि कीटजन्य रोगहरू देखिन थालेपछि स्वास्थ्यकर्मीहरू चिन्तित बनेका छन् । निर्देशनालयका अनुसार चालू आर्थिक वर्षको सुरुवातसँगै कर्णालीमा हालसम्म २२ जनामा डेंगुको संक्रमण भएको छ ।
जसमा सबै भन्दा धेरै सुर्खेतमा १३ जनामा डेंगुको संक्रमण देखिएको छ । यस्तै हिमाली जिल्ला जुम्लामा ४, रुकुम पश्चिममा २, दैलेख, सल्यान र कालीकोटमा एक÷एक जनामा संक्रमण देखिएको अधिकृत कँडेलले जानकारी दिए । बदलिँदो मौसमका कारण कर्णालीका प्रायः जिल्लाहरूमा डेंगुको संक्रमण् फैलिंदो क्रममा रहेको चिकित्सकहरुको भनाइ छ ।
कर्णालीमा हालसम्म डेंगुको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । संक्रमणको जोखिम भने धेरै रहेको निर्देशनालयले जनाएको छ ।यता, जिल्ला प्रशासन कार्यालय सुर्खेतले भने पछिल्लोसमय डेंगीको संक्रमण तिव्रगतिमा फैलिएकाले सुरक्षित रहन आग्रह गरेको छ । प्रशासनले बुधवार एक सूचना जारी गरी डेंगी संक्रमणबाट सबैलाई सुरक्षित रहन आग्रह गरेको हो ।
प्रशासनले जारी गरेको सुचनामा पूरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्र सुत्ने र घरको झ्याल ढोकामा लामखुट्टे छिर्ने जाली/झुल लगाउन सबैमा अनुरोध गरिएको छ । यस्तै घर, कार्यालय, सार्वजनिक ठाउँमा पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको भएमा तत्काल मर्मत गर्न पनि आग्रह गरिएको छ ।
गमलाको प्लेट, फुलदानी, कुलर आदीको पानी कम्तिमा हप्ताको एकपटक फेर्ने र पानी जम्मा गर्ने भाँडोलाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्न स्थानीय प्रशासनले जिल्लाबासीलाई अनुरोध गरेको छ । जिल्लामा “लामखुट्टेका लार्भा खोज र नष्ट गर“ अभियान सञ्चालन गर्ने निर्णय भएको हुँदा लामखुट्टेको टोकाइबाट बच्न पनि प्रशासनले आग्रह गरेको हो ।