२०८३ वैशाख ११ , शुक्रबार

सिम्ताका दुई विद्यालय भवन पहिरोको जोखिममा



सुर्खेत । केही दिनदेखि परेको अविरल वर्षाको कारण सुर्खेतमा दुई वटा विद्यालय भवन पहिरोको जोखिममा परेका छन् । जिल्लाको सिम्ता गाउँपालिका–१ गान्द्रा स्थित खनेटाको भगवती माध्यामिक विद्यालयका दुईवटा भवन पहिरोको जोखिममा परेका हुन् । विद्यालय पहिरोको जोखिममा परेपछि पठनपाठनमा समस्या भएको छ ।

२०७७÷०७८ मा खनिएको सडकले विद्यालयको पर्खाल भत्काएको थियो । उक्त पर्खाल भत्काएपछि विद्यालय जोखिमै रहेको थियो । त्यसपश्चात गत २०८० साउन २७ र २८ गते परेको अविरल वषार्लले विद्यालयमुनीको माटो बगाएपछि विद्यालय झन जोखिममा रहेको विद्यालयका प्रधानाध्यापक कर्णबहादुर राणाले जानकारी दिए ।

उनकाअनुसार पहिरो झरेपछि सडकमाथि रहेको उक्त दुईवटा विद्यालय जोखिममा परेका हुन् । ‘सड्क खनिसकेपछि गत असोजमा परेको अबिरल वर्षाले सडक भासियो । त्यसपछि शिवालय गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीले विद्यालयको पर्खाल भत्काएर सडक बनाउँ हामी पालिकाबाट सहयोग गर्छौ त्यसपछि पक्कीवाल बनाउला भने,’ अध्यक्ष शाहीको भनाईलाई उदृत गर्दै प्रअ राणाले भने,

‘त्यसपछि केही वास्ता नै गर्नुभएको छैन् । अस्ति आएको पानीले विद्यालय झन जोखिममा परेको छ,’ उनले थपे । प्राविधिक पक्षलाई ध्यान नदिई डोजर लगाएर सडक निर्माण गरिँदा विद्यालय जोखिममा परेको स्थानीयहरुको आरोप छ । विद्यालय परिसरमा पहिरो जाँदा उक्त विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको छ ।

पठनपाठन सञ्चालन गरिँदै आएका ब्लक जोखिममा परेपछि विद्यालयमा कक्षाकोठाको अभाव भएको छ । कक्षाकोठा अभाव भएका कारण पढाइमा समेत प्रभाव परेको प्रअ राणाले बताए । उनले जोखिम मोल्दै विद्यार्थीहरुलाई पढाउँदै गरेको बताए ।

प्रअ शाहीले विद्यालय भवन निर्माणको लागि प्रदेश सरकारसँग पहल भइरहेको बताए । उनले उक्त विद्यालय शिवालय गाउँपालिका र सिम्ता गाउँपालिकाको सिमानामा रहेकाले विद्यालय भवनमा आ–आफ्नो दाबी रहेको बताए ।

प्रकाशित मिति : २०८० साउन ३२ गते बिहीबार