२०८३ वैशाख १० , बिहीबार

डोल्पामा १५ वर्षीय बालिका नौ जनाबाट बलात्कृत



सुर्खेत । डोल्पामा बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकामा नौ जना युवाहरू मिलेर १५ वर्षीया बालिकामाथि बलात्कार गरेका थिए । घटना घटेको छ महिनापछि परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएसँगै संलग्न नौ जना मध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

वडा नम्बर ६ बस्ने बालिकामाथि स्थानीय युवाहरूले पटक पटक बलात्कार गरेको किटानी जाहेरी परिवारबाट जिल्ला प्रहरी कार्यालयमा आएपछि संलग्न नौ जना मध्ये तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका तीन मध्ये दुई जनालाई जुम्लाबाट र एक जनालाई गाउँबाटै नियन्त्रणमा लिइएको हो । ६ जना युवाहरु हालसम्म पनि फरार छन् । फरार रहेकाहरूको खोजी कार्य तिव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ ।

फरार भएका युवालाई पक्राउ गर्न सजिलो होस् भनेर नियन्त्रणमा लिइएका युवाहरूको नाम प्रहरीले गोप्य राखेको छ । बलात्कार भएकी बालिकाको पेटमा छ महिनाको गर्भ रहेको समेत खुलेको छ । गर्भवती भएकी नाबालिकालाई हेरचाह केन्द्रमा स्थानान्तरण गर्नको लागि कर्णाली प्रदेश सुर्खेतमा समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको परिवार निम्न वर्गको भएकाले गाउँमै घटना मिलाउन दबाब दिइएको थियो । पछि बालिका गर्भवती भएको थाहा भएपछि मात्रै घटना बाहिरिएको प्रहरीको भनाइ छ । बलात्कृत बालिका कक्षा ७ मा अध्ययनरत छन् । उनलाई जिल्ला अस्पताल डोल्पाले एक द्वार संकट व्यवस्थापन केन्द्रको सहयोगबाट सुर्खेतमा पठाएको छ ।

प्रकाशित मिति : २०८० भदौ २ गते शनिबार