
रवि हमाल, मुगु । मुगुमा १ सय ५० भन्दा बढी बस्तीहरू पहिरोको उच्च जोखिममा रहेका छन् । हिमाली जिल्ला मुगुमा प्रकृतिले नै ठगेको भूभाग नमिलेको बलौटे, बालुवा ,गिट्टीबाट बनेको भूगोल त्यसैमाथि पछिल्लो समयमा विकास निर्माणको क्रममा जथाभाबी भूगोलको अध्ययन नगरी सडक धमाधम निर्माण गरेपछि प्रत्येक वर्ष आएको बाढी पहिरोले यहाँ उक्त बस्ती जोखिममा रहँदै आएका छन् ।
देशमा सङ्घीय संरचना सहित तीन तहको सरकार निर्माण भई सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने मूल नारा सहित ६ वर्ष बितिसक्दा पनि मुगु जिल्लामा रहेको एक नगरपालिका र ३ गाउँपालिकामा रहेको २ सय भन्दा बढी बस्तीहरू मध्य १ सय ५० बस्ती पहिरोको उच्च जोखिममा रहेका पाइएको छ । यी उच्च जोखिमका बस्तीमा बस्दै आएका हजारौँ नागरिकहरू पहिरोको जोखिम मोलेर जीवन बिताउन बाध्य रहेका छन् ।
गत वर्ष असोज १९ गते देखि २४ गते सम्म आएको ठुलो बाढी पहिरो घर ,धनजन ,अन्न, भाँडाकुँडा, खेत बारीमा लगाएको अन्न समेत बारीबाटै बगाएको हुँदा घरबार विहीन भएर उनीहरू त्रिपालमुनि खुल्ला आकाशमा बस्दै आएका छन् । आकाशमा बादल आउँदा राति निन्द्रा लाग्दैन स्थानीय र अन्य सङ्घ संस्थाले राहत लगायत अन्य कुनै पनि सेवा दिएको छैनन् ।
‘गाउँमा बसौँ भने गाउँ नै पहिरोको जोखिममा रहेको छ, अहिले सम्म खुल्ला चौरमा बस्दै आएका छौँ । छायानाथ रारा नगरपालिका वडा नम्बर ८ झ्यारी गाउँका जैमती रावलले भनिन् । बाढी पहिरोले छायानाथ रारा नगरपालिका दर्जनौँ बस्ती लगायत जिल्लाभरिका धेरै बस्तीहरू पहिरोको उच्च जाखिमना रहेका छन् भने, जोखिम परेका बस्तीमा हजारौँ नागरिकहरू ज्यान धरापमा राखेर जीवन जिउन बाध्य रहेका छन् ।

स्थानीय वडा, गाउँपालिका, नगरपालिकामा आएको बजेटले उच्च जोखिममा रहेका बस्तीहरूमा विकास निर्माण गर्न नपुग्ने भएको हुँदा प्रदेश र सङ्घीय सरकारको भर पर्नुपर्ने बाध्यता रहेको छ । मुगु जिल्लामा रहेका जोखिममा बस्तीहरूको सुधारको लागि समयमा सहयोगको काम गरेमा मानवीय क्षतिबाट बच्न सकिने अवस्था रहेको छायानाथ रारा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजु सुनारले बताए ।
मुगु जिल्लामा भूगोल अन्य जिल्ला भन्दा निकै फरक प्रकृतिको छ । थोरै आकाशबाट पानी आउन बित्तिकै बाढी पहिरो आउने सम्भावना बढी रहेको हुँदा निकै समस्या परेको छ । मुगु जिल्ला भरी पहिरोको उच्च जोखिममा रहेका १ सय ५० भन्दा बढी बस्ती रहेका छन् ।
पहिरो रोकथाम गर्नको लागी जिल्लामा रहेका सरोकारवाला निकायहरूले समयमै पहल गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाको भनाई छ । मुगु जिल्लामा डरलाग्दो सङ्ख्याको हिसाबमा पहिरोको उच्च जोखिममा रहेका बस्तीमा हजारौँ नागरिकहरूको धन सम्पत्ति र मानवीय ज्यान जोगाउनको लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार एक आपसमा सहकार्य गरेर अगाडि बढ्नु पर्ने जरुरी देखिन्छ ।

प्रकाशित मिति : २०८० भदौ २ गते शनिबार