
कुलेन्द्र शाही, सुर्खेत । जाजरकोट शिवालय गाउँपालिका–५ काउलाका श्यामप्रसाद जैसीले पश्चिम जाजरकोट विकास समाजबाट १५ हजार ऋण र आफ्नो घरबाट १५ हजार गरी कुल तीस हजारमा आलुको बिउँ किनेर लगाए । उनको आलु राम्रै उत्पादन भयो । उनले करिब ४० क्विन्टल आलु उत्पादन गरे । तर, उत्पादन गरेको ४० क्विन्टल आलु बिक्री नहुने डर उनलाई छ ।
आलु विक्री नहुने भन्ने पिर उनलाई मात्र होइन, यहाँका धेरै किसानलाई छ । उनीहरूले आलु राम्रो उत्पादन गरेपनि राम्रो बजारको व्यवस्था नभएकोले दुःख गरेर उत्पादन गरेको आलु कतै बिक्री पो नहुने हो कि भन्ने डरले त्यहाँका सयौँ किसान चिन्तित भएका छन् । विगतका वर्षभन्दा यो वर्ष आलु उत्पादन निकै बढी भएकाले बजार नपाउने चिन्ता हुन थालेको सोही ठाउँकी कृषक पिङगोला खत्रीले बताइन् ।
कति किसानहरूले अहिले आलु खनिसकेका छन् भने कतिको खन्न बाँकी छ । तर ति सबै आलु बिक्री हुँदैन कि भनेर चिन्तित भएको अर्का स्थानीय बलबहादुर खत्रीको गुनासो छ । शिवालय गाउँपालिकाको सबैभन्दा राम्रो आलु उत्पादन हुने ठाउँ काउला हो । तर, उत्पादन गरेको आलु बिक्री गर्न सहज नहुँदा स्थानीय किसानहरूलाई पिरलो छ । गाउँघरमै २र४ केजी आलु बिक्री भएपनि थोकमा आलु बिक्रीका लागि समस्या भइरहेको स्थानीयहरू बताउँछन् ।

यहाँका अधिकांश किसानले आलु खेती गरेका छन् । उनीहरूले प्रतिकिलो ४० रुपैयाँमा बेच्न खोज्दा पनि आलुहरु बिक्री हुन सकेका छैनन् । श्यामप्रसादले भने,‘आलु उत्पादन राम्रो भएको छ, गत वर्षतिर १०÷१२ क्विन्टल आलु उत्पादन हुने ठाउँमा यो पटक करिब ४० क्विन्टल आलु उत्पादन भएको छ, सुरुमा मैले ऋण लिएर दैलेखको रातानाङलाबाट बिउँ किनेर ल्याएको थिए,’ उनले खबरदृष्टिसँग भने,
‘त्यति टाढाबाट ल्याएको वीउले राम्रो उत्पादन दियो, तर बिक्री हुन्न, के गर्ने राति निद्रा समेत लाग्दैन ।’ उनले गत वर्ष बन्दागोभी पनि राम्रो उत्पादन गरेका थिए । उनले लगाएको बन्दा बिक्री नै भएन । उनी यो वर्षको आलु पनि त्यस्तै हुन्छ कि भनी चिन्तित छन् । यस्तै अर्का किसान भक्त बहादुर खत्रीले पनि आफूले उत्पादन गरेको आलु घरमै थन्किएको बताए । उनले आफूले उत्पादन गरेको करिब १० क्विन्टल आलु घरमै थन्किएको बताए ।
उत्पादन गरेका कृषिजन्य बस्तुहरु विशेषगरि वर्षात कारण सडक अवरुद्ध भएपछि बजारसम्मको पहुँच नहुुँदा बिक्री गर्न समस्या भएको कृषकहरु बताउँछन । सुर्खेत र जाजरकोटका विभिन्न स्थानका सडक अवरुद्ध भई सवारीसाधनको आवतजावत बन्द भएपछि व्यापारिक केन्द्रमा आलु ढुवानी गर्न समस्या भएको गाउँपालिकाले जनाएको छ । अवरुद्ध सडक तत्काल सुचारु गराउन किसानले सरोकारवाला निकायसँग माग गरेका छन् ।
सडक सुचारु गरेर किसानका थन्किएका आलुहरु बिक्रीको लागि आफूले पहल गरिरहेको शिवालय गाउँपालिकाका कृषि शाखा प्रमुख विश्वामित्र शर्माले बताए । उनले काउलामा मात्रै करिब १ सय देखि १ सय ५० क्विन्टल आलु “स्टक” भएको बताए । ‘मैले गाउँपालिकाबाट धेरै ठाउँमा पहल गरिरहेको छु, सुर्खेतको बाबु शाही मन्डीसंग पनि कुरा गरेको छु, अबको ५/६ दिनमा आलु बिक्री हुन्छ,’ उनले भने,
‘अवरुद्ध भएको सडक मर्मत गरी ढुवानीमा किसानलाई सहुलियत दिएर सहयोग गर्छौ ।’ उनले अवरुद्ध बाटो र किसानहरूले बजारीकरणको बारेमा थाहा नपाउँदा आलु बिक्रीमा केही समस्या भएको बारे आफु राम्रो जानकार भएको बताए । उनले पालिकामा मात्रै ५० क्विन्टल भन्दाबढी आलु बिक्री हुने दाबी गरे ।