२०८३ वैशाख १० , बिहीबार

कालीकोटको तिलागुफा बालविवाह मुक्त वडा घोषणा



कालीकोट । कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ७ र ८ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । तिलागुफा नगरपालिकाको सक्रियता तथा त्यससँग सम्बन्धित गैरसरकारी निकायको सहयोगमा बालविवाह मुक्त वडा बनाउनका लागि सबै मापदण्डहरू पूरा गरी तिलागुफा वडा नम्बर ७ र ८ लाई बालविवाह मुक्त वडाका रूपमा घोषणा गरिएको हो ।

तिलागुफा नगरपालिकाभित्रका ११ वडामध्ये ८ वडामा बालविवाह हुने तर शून्यमा झारिएको छ । बालविवाह हुनै छाडेपछि ती वडालाई नगरले बालविवाह मुक्त वडा घोषणा गरेको हो । सन् २०१८ बाट बालविवाह अन्त्यको थालनी गर्दा वडा नम्बर ८ मा मात्र जम्मा विवाहको ९२ प्रतिशत बालविवाह भएको पाइएको थियो ।

तर सन् २०२३ पुग्दा पाँच वर्षको अवधिमा बालविवाहको दर शून्यमा झरेको वडाध्यक्ष तिलक न्यौपानेले बताए । शुक्रबार वडालाई बालविवाह निषेधित वडा घोषणा गर्दै वडा अध्यक्ष न्यौपानेले सबैको प्रयासले पाँच वर्षमा बालविवाहको दरलाई शून्यमा झार्न सकेको बताए ।

उनले सहयोग गर्ने सेभःद चिल्ड्रेन, किर्डाक नेपाल सहयात्रा परियोजना लगाएत सबै वडाका नागरिकलाई धन्यवाद समेत दिएका छन् । नगरपालिका प्रमुख शङ्करप्रसाद उपाध्याय लगायत सबै सरोकारवालाको रोहवरमा वडा नं ८ र ७ लाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ ।

शनिवार वडा नं ७ लाई पनि औपचारिक रुपमा बालविवाह निषेधित वडा घोषणा गरेपछि तिलागुफा नगरपालिकाभित्रका ११ वटा वडामध्ये ८ वडालाई बालविवाह निषेधित वडा घोषणा भएका छन् । अब बाँकी तीन वटा वडालाई एकै पटक बालमैत्री स्थानीय शासन लागु भएका वडा घोषणा गर्ने तयारी नगरपालिकाले लिएको छ ।

प्रकाशित मिति : २०८० भदौ ३ गते आइतबार