
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले चौकुने र लखरपाटामा सिमेन्ट कारखाना स्थापनाका लागि सडक, विद्युतलगायतका पूर्वाधार एवं संरचना बनाउन पहल गरीदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेको छ । संघले सोमवार प्रधानमन्त्री प्रचण्ड सुर्खेत आएको अवसरमा चौकुने र लखरपाटामा सिमेन्ट कारखाना स्थापनाका लागि सडक विद्युत लगायतका संरचना बनाउन पहल गरीदिन उनलाई आग्रह गरेको हो ।
प्रधानमन्त्री प्रचण्डलाई संघले १९ बुँदे मागपत्र बुझाएको उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए । वाणिज्य संघले चीनसँग जोडिएका मुगुको नाम्चे नांग्ला, हुम्लाको हिल्सा र डोल्पाको मुरिम्ला नाका खोल्नका लागि पहल गरिदिन समेत आग्रह गरेको छ । कोरोना महामारीको समयमा बन्द भएका उत्तरी नाकाहरु अझै खुलेका छैनन् ।
यस्तै सुर्खेतको साटाखानीमा प्रस्तावित एक हजार बिगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि यथाशीघ्र कार्यारम्भ गर्नुका साथै प्रदेशका प्रत्येक जिल्लामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । यस्तै सुर्खेतमा प्रादेशिक प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने माग पनि राखिएको छ ।
सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि आवश्यक बजेट विनियोजन, जडीबुटी संकलन तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याउन बजेट व्यवस्था गर्न माग गरिएको छ । यस्तै माथिल्लो कर्णाली जलविद्युत आयोजनाका साथै नलगाडलगायतका अन्य जलविद्युत आयोजना सञ्चालनका लागि सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक नीतिगत, भौतिक पूर्वाधार निर्माणको कार्य तत्काल सुरु गर्नुपर्ने पनि उक्त मागपत्रमा उल्लेख छ ।
अन्य मागहरु
—सुर्खेतलाई विद्युतको १३२ केभीए राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले सुरु गरिएको हाइटेन्शन लाइन विस्तारका क्रममा देखिएका अवरोध हटाई निर्धारित अवधिमै काम सम्पन्न गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने ।
—विगतमा अन्वेषण प्रारम्भ गरिएको दैलेखको पञ्चकोशीमा पेट्रोलियम पदार्थ उत्खनन् प्रक्रिया तीव्र गतिमा अगाडि बढाउनुपर्ने ।
—जाजरकोट र कालिकोटमा पाइने बहुमूल्य रत्नपत्थर उद्योग स्थापना गर्नुपर्ने । सुर्खेतमा प्रस्तावित प्रदेशस्तरीय मेडिकल कलेज स्थापनाका लागि तत्काल ठोस काम सुरु गर्नुपर्ने
—कम्पनी रजिष्ट्रारको प्रादेशिक कार्यालय राजधानीमा स्थापना गरी सेवा आरम्भ गर्नुपर्ने । नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयलाई पूर्वाधार तथा अधिकारसम्पन्न गराई क्षेत्राधिकार अनुसार सेवा प्रवाह योग्य बनाउनुपर्ने ।
—कर्णालीमा अर्ग्यानिक कृषिको प्रवर्द्धन तथा व्यवसायिकीकरणका लागि अर्ग्यानिक कृषि अनुसन्धान केन्द्र तथा अन्य आवश्यक पूर्वाधार एवं नीतिगत तयारी गर्न पहल गरिनुपर्ने ।
— कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै आयोजना गर्नका लागि पर्याप्त बजेटलगायतको व्यवस्थापन गर्नुपर्ने ।
— पछिल्लो समय देखिएको आर्थिक संकटको अन्त्यका लागि बजारमैत्री नीति अवलम्बन गर्नुपर्ने ।
—एक प्रदेश एक शीत भण्डारण स्थापना गर्नुपर्ने ।