
डोल्पा । हिमाली जिल्ला डोल्पा जडीबुटीको भण्डारको रूपमा चिनिन्छ । डोल्पामा पहेँलो सुनको रूपमा रहेको यार्सागुम्बा, जटामसी, गुच्ची च्याउ, सेतकचिनी, पदमचाल, पाँचऔँलेलगायत विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी प्रशस्त मात्रामा पाइन्छ ।
यस वर्ष यार्सागुम्बा बिक्रीबाट मात्रै डोल्पामा एक अर्ब ४७ करोड रुपैयाँभन्दा धेरै रकम भित्रिएको तथ्यांकले देखाएको छ । यार्सागुम्बा बिक्री वितरणका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय डोल्पाबाट मात्रै पाँच सय ८८ किलोबराबरको छोड पुर्जी जारी भएको छ ।
प्रतिकिलो २५ लाख रुपैयाँले मात्र एक अर्ब ४७ करोड रुपैयाँ भित्रिएको स्थानीय यार्सा व्यापारीले बताएका छन् । ३० लाख रुपैयाँका दरले हिसाब गर्ने हो भने झण्डै दुई अर्ब पुग्ने उनीहरूको भनाइ छ ।
यस वर्ष डोल्पामा प्रतिकिलो १० लाखदेखि ३० लाख रुपैयाँसम्मको यार्सागुम्बा खरिद–बिक्री भएको दोलखाकी यार्सा व्यापारी मिमा फिन्जुक शेर्पाले बताइन् । एक दशकभन्दा पहिलाबाट डोल्पामा यार्सा व्यापार गर्दै आएकी शेर्पाका अनुसार यार्सा पहिलो, दोस्रो र तेस्रो गरेर तीन प्रकारको हुने भएकाले मूल्य पनि त्यहीअनुसार हुने गरेको छ ।
डोल्पा गुण र परिमाणको आधारमा नेपालमै धेरै यार्सागुम्बा पाइने जिल्ला भएकाले यस वर्ष राम्रो यार्साको प्रतिकिलो ३० लाख रुपैयाँसम्म कारोबार भएको निकुञ्जको भनाइ छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत लाल भण्डारीले एउटै जिल्लामा करिब ४५ दिनको अवधिमा गरिएको दुःखले डेढ अर्बभन्दा धेरै रकम भित्रिनु सुखद कुरा भएको बताए ।
यार्साबाट प्राप्त यो रकम जिल्लाका ग्रामीण बस्तीमा रहेका नागरिकको हातहातमा पुगेको बताउँदै उनले यसले डोल्पावासीको जीवनस्तर सुधारमा ठूलो टेवा पुग्ने बताए । यो रकम विदेशबाट डलरको रूपमा भित्रिने भएकाले समग्र देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने भण्डारीको भनाइ छ ।
त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाउँमा मात्रै यार्सागुम्बा बिक्री वितरणबाट झण्डै एक करोडभन्दा बढी रकम भित्रिएको छ । यार्सागुम्बाको ब्रिकी वितरणबाट यस वर्ष विगतका वर्षभन्दा कम रकम भित्रिएको करेलीकाँडा गाउँका स्थानीय चन्द्रबहादुर लामाले बताए ।
‘दुई–तीन वर्षअघिसम्म दुई करोडभन्दा धेरै रकम भित्रिने गरेको थियो । शहर बजारमा घर घडेरी जोड्थे, अहिले यार्साको पैसाले स्थानीयहरू वर्षभरिका आवश्यकता पूरा गर्छन्,’ लामाले भने । आ.व. २०७९/०८० मा मात्रै निकुञ्जले दण्ड जरिवाना, यार्सागुम्बा, पर्यटन, अन्य जडीबुटीलगायतबाट कुल दुई करोड तीन लाख ८४ हजार ६ सय ४२ रुपैयाँ राजस्व उठाएको छ ।
आ.व ०७८/०७९ भन्दा अघिल्लो आ.व.मा ३५ प्रतिशतले राजस्वमा वृद्धि भएको निकुञ्जले जनाएको छ । त्यसैगरी डिभिजन वन कार्यालय डोल्पाबाट मात्रै तीन सय ४३ किलोबराबरको यार्सागुम्बाको छोडपुर्जी जारी भएको छ ।
अघिल्लो आ।व।मा मात्रै वनले एक करोड १२ लाख ३९ हजार राजस्व संकलन गरेको डिभिजन वन अधिकृत महेश कुमाईंले जानकारी दिए । यसरी व्यापारीले संकलन गरेको सयौं किलो यार्सागुम्बा जहाज र हेलिकप्टर चार्टर्ड गरेर काठमाडौंसम्म ढुवानी हुने गरेको छ ।