२०८३ वैशाख ११ , शुक्रबार

बाँफिकोटमा बजार अनुगमन, साढे २ लाखको सामान बरामद



सुर्खेत । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरिएको छ । गाउँपालिकको लागिम, जिपु, सिम, जग्रा, छिनखेत बजार, सेराखेत लगायतका ठाउँमा अनुगमन गरिएको हो । गाउँपालिकाले दुई दिन लगाएर बजार अनुगमन गरेको प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओलीले जानकारी दिए ।

अनुगमनका क्रममा साढे २ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको र केही बरामद सामान नष्टसमेत गरिएको गाउँपालिकाले जनाएको छ । विशेषगरी अनुगमनका क्रममा मदिरा जफत गरिएको छ । बिना लाइसेन्स सञ्चालन गरिएका पसलबाट मदिरा जफत गरी गाउँपालिकाको स्टोरमा सुरक्षित राखिएको अधिकृत ओलीले बताए ।

जफत गरिएका मदिरा र अन्य सामान कर तिरेको रसिद तथा नवीकरण गरेको लाइसेन्स लिएर आएमा फिर्ता दिइने गाउँपालिकाको भनाइ छ । साथै मापदण्ड विपरीत सञ्चालन भएका १५ भन्दा बढी पसल गाउँपालिकाले बन्द गरिदिएको छ ।

यस्तै सात हजार रुपैयाँ बराबरको सामान विभिन्न व्यक्तिको रोहबरमा नष्ट गरिएको गाउँपालिकाले जनाएको छ । अनुगमनका क्रममा मापदण्डमा रहेर पसल सञ्चालन गर्न निर्देशनसमेत दिइएको छ

प्रकाशित मिति : २०८० भदौ ५ गते मंगलबार