२०८३ वैशाख ११ , शुक्रबार

सिम्ताको खान्मामा एक घर एक धारा कार्यक्रमले पायो पुर्णता



दुर्गा विसी, सुर्खेत । खान्मा खानेपानी तथा सरसफाइ समितिको प्रथम साधारण सभा तथा सार्वजनिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मङ्गलवार एक कार्यक्रमका बिच सिम्ता –९ खानिखोला खान्मा स्थित प्रावि खान्माको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

एकीकृत जलस्रोत व्यवस्थापन कार्यालय हेन्भेटास र सिम्ता गाउँपालिकाको आर्थिक सहयोग तथा समाज जागरण केन्द्र स्याक नेपालको प्राविधिक सहयोगमा खान्मामा १२७ अर्थात् एक घर एक धारा र नेरा प्राथमिक विद्यालय खान्मा धारा सञ्चालन भएको छ । उक्त कार्यक्रममा खान्मा खानेपानी तथा सरसफाइ समिति कोषाध्यक्ष तुलसा सुनारले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिन् ।

यस्तै सचिव चेत बहादुर सुनारले खानेपानी कार्य योजना प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सिम्ता गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मी, सिम्ता ९ का वडा अध्यक्ष कविराज योगी स्याक नेपालका लेखा तथा प्रशासन अधिकृत भरत गिरि, प्राविधिक उमेश कँडेल, माधव आचार्य, सिम्ता ९ का वडा सदयहरू,खान्माका आम उपभोक्ताहरूको उपस्थिति रहेको थियो ।

उक्त योजना कार्यक्रममा असारमा सम्पन्न भएको समयसम्म सहयोग गर्ने साझेदार संस्था हेल्भेटास र स्याक नेपाल सहित खान्मामा विगत धेरै दशक पहिले खानेपानी योजना सम्पन्न गर्ने पूर्व वडा अध्यक्ष तिलकराज पुरी लगायतलाई सम्मान पत्र सहित प्रमुख अतिथिबाट सम्मान गरिएको छ । यसैबिच कार्यक्रममा खुल्ला छलफल सहित आम उपभोक्ताका गुनासो र सल्लाह सुझाव ग्रहण गर्दै सरोकारवाला निकायले जबाफ समेत दिएका छन् ।

साथै उक्त कार्यक्रममा फिल्टर समेत वितरण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि सिम्ता गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मीले खानेपानी नै मानव जीवनको नभई नहुने पहिलो आधारभूत आवश्यकता भएको बताइन् । उनले खानेपानीलाई दिगो र निरन्तर बर्षौसम्म सञ्चालन गर्न आम उपभोक्ता लाग्नुपर्ने बताइन् । कार्यक्रममा सिम्ता ९ का वडा अध्यक्ष कविराज योगीले खान्मा खानेपानी समितिको कार्यालय घर स्थापनाको लागि वडाबाट पहल गर्ने प्रतिबद्धता जनाए ।

यस्तै योजना सम्पन्न गर्न प्राविधिक सहयोग गर्ने समाज जागरण केन्द्र स्याक नेपालका प्राविधिक माधव प्रसाद आचार्यले आगामी १० वर्षमा ९०% धारा निरन्तर सञ्चालन भएमा योजना सफल हुने बताए ।उनले अबका दिनमा योजना कसरी दिगो बनाउने भन्ने तर्फ सबैले मनन गर्नुपर्ने बताए । प्रत्येक उपभोक्ताबाट मासिक १५० रुपैयाँ सुल्क खान्मा खानेपानी समितिले लिएकोमा अन्यथा लिन नहुने उनको भनाई छ ।

यसबाट मर्मत सम्भार कोष, पलम्बर तलब लगायत संस्थाले विविध शीर्षकमा रकम जम्मा गर्ने र त्यही खानेपानी योजनाको रेखदेख गर्ने जानकारी दिए । समितिका अध्यक्ष शिव शङ्कर सिंहको सभापतित्व रहेको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष गोकुल थापाले गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रावि खान्माका शिक्षक लक्ष्यबहादुर सुनारले गरेका थिए ।

प्रकाशित मिति : २०८० भदौ ६ गते बुधबार