
दुर्गा विसि, सल्यान । सुर्खेतको सिम्ता गाउँपालिकाको वडा नम्बर ९ ले आफ्नो वडामा बिहेवारी, बिस वर्ष पारीको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । वडामा पछिल्लो समय बालविवाह ह्वात्तै बढ्न थालेपछि वडाले उक्त निर्णयलाई कडाइ गर्ने भएको हो ।
वडाले बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी न्यूनीकरणका लागि सम्पूर्ण टोल–बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन आफूहरूले यस्तो निर्णय गरेको वडा अध्यक्ष कविराज योगीले जानकारी दिए ।
विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको उनले बताए । वडामा बालविवाह गर्नेको सङ्ख्या बढ्दै गएपछि बिहे गर्नेका निम्ति २० वर्ष पारी भन्ने मुलमन्त्रलाइ अघि सारेको वडाध्यक्ष योगीको भनाई छ ।
वडाको सिफारिस तथा यस्तो निर्णय उपर निर्णय भए पश्चात्कु नैले कदम कदापि विवाह गरिहालेमा सम्पूर्ण सेवा सुविधा समेत रोक्का हुन सक्ने वडाको चेतावनी छ । वडाको सिफारिस विना विवाह भएमा त्यसलाई कानुनी मान्यता समेत नदिने वडाले जनाएको छ । विवाह गर्ने उमेर २० वर्ष पारि भएकाले वडा समितिको भाद्र ६ गते बसेको बैठकले उक्त निर्णय गरेको जनाएको छ ।
सिम्ता गाउँपालिकाको यस्तो निर्णय गर्ने यो पहिला वडा हो । बालविवाह न्यूनीकरणका लागि वडाको यो कदम अत्यन्तै सर्हानिय भएको तत्कालीन वडा सचिव चन्द्र शाहीको भनाइ छ । वडामा विकास निर्माण कार्य देखि सुशासन र नागरिकलाई दिइने अन्य विभिन्न सेवाहरू समेत सकारात्मक ढङ्गले अघि बढेको स्थानीयले बताएका छन् ।
