२०८३ वैशाख ११ , शुक्रबार

भेरीगंगामा ६ वर्षमा पनि बनेनन् वडाका भवनहरू



भेरीगंगा-३ को वडा कार्यालय

सुर्खेत । सुर्खेतको भेरीगंगाका १३ वटा वडा मध्ये ४ वडा वडा अझै पनि भाडामा बस्दै आएका छन् । नगरपालिकाका वडा नम्बर ३, ७,९ र १२ मा निजी घरबाट सञ्चालन हुँदै आएका छन् । वार्षिक रूपमा लाखौँ रकम भाडामै खर्च भए पनि वडा कार्यालय बनाउन तर्फ भने न नगरपालिका न वडाका जनप्रतिनिधि नै अग्रसर भएको देखिन्छ । भेरीगंगामा वडा कार्यालय भवन नभएका वडाका कतिपय जनप्रतिनिधि २०७४ सालदेखि अहिलेसम्म निर्वाचित भएका छन् ।

 

एउटै वडाध्यक्षले वडा कार्यालय चलाइरहँदा पनि वडा कार्यालय बनाउनमा कसैको ध्यान गएको छैन । भेरीगंगा नगरपालिका–७ को वडा कार्यालय अहिले पनि भाडामा चलिरहेको छ । उक्त वडा कार्यालय २०७४ सालबाटै भाडामा चल्दै आएको छ । वडाले मासिक ४ हजार रकम तिर्दै आएको छ । “हामीले सल्यानका एक जनाको घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गरेका छौँ, मासिक ४ हजार बढी रकम तिर्छौ ”, वडा नम्बर ७ का वडा अध्यक्ष कर्णबहादुर मिजारले भने ।

 

उनी २०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्ष भएर निर्वाचित भएका थिए भने २०७९ सालको निर्वाचनमा उनी पुनः निर्वाचित भएका छन् । उनी दुई पटकसम्म निर्वाचित हुँदा पनि उनले वडा भवन आफ्नै बनाउन सकेनन् । यस्तै वडा नम्बर ९ को वडा कार्यालयको अवस्था पनि त्यस्तै छ । यो वडा कार्यालय पनि २०७४ सालबाट भाडामा चल्दै आएको छ । यस वडाले वडा कार्यालयको भाडा बापत मासिक ८ हजार तिर्ने गर्दछ । बरु वडाले भाडाकै घर पनि २ तीन पटक फेरिसकेका छन् ।

 

तर, आफ्नो भवन बनाउनतर्फ कसैको पनि ध्यान जान सकेको छैन । साँघुरो तथा सास्ती खेप्दै वडा कार्यालयबाट सेवा दिन सक्ने जनप्रतिनिधिले वडा कार्यालयको लागि भवन बनाउन उनीहरूले सकिरहेका छैनन् । अर्को अच्चमको कुरा त वडा नम्बर ३ को वडा कार्यालय भाडामा छ । तर, भाडामा भएको वडा कार्यालय पनि जोखिममा छ । उक्त वडा कार्यालय फुसले छाएको माटोले बनेको घरबाट चलिरहेको छ । उक्त भवनलाई टाढाबाट हेर्दा निकै जोखिमपूर्ण छ ।

 

तर पनि वडा बनाउनको लागि वडाबाट कुनै पनि पहल भएको छैन । पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालको एक वर्ष बितिसक्दा पनि स्थानीय तहले आफ्नै भौतिक संरचना बनाउन सकेका छैनन् । सुविधायुक्त भवनको अभावमा स्थानीय तहको सेवा प्रवाह चुस्त र प्रभावकारी हुन सकेको छैन । साँघुरा भवन, कोठाबाटै अव्यवस्थित रूपमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता रहेको वडा अध्यक्ष बताउँछन् । सेवाग्राहीमैत्री पूर्वाधार र वातावरण छैन। वर्षौँसम्म भाडा तिरेर कार्यालय राख्दा राज्यलाई अतिरिक्त व्ययभार थपिएको छ ।

 

यता, वडा नम्बर ७ का वडा अध्यक्ष आफ्नै वडाको भवन नहुँदा नागरिकहरूलाई असहज भएको बताउँछन् । उनले पहिलो ५ वर्ष आफ्नो कार्यकाल भएको र यस पटक पनि पुन अध्यक्ष भएको बताउँदै वडा कार्यालयको भवन निर्माणको लागि धेरै पहल गर्दा पनि भवन बनाउन नसकेको बताए । उनले वडा कार्यालय भवन निर्माणमा निकै चुनौती भएको बताए । भौगोलिक विकताका कारणले पनि वडा भवन निर्माण हुन नसकेको उनको भनाइमा छ ।

 

गत वर्ष वडाबाट ८ लाख बजेट छुट्टाएको भए पनि केही समस्याका कारण वडा भवन निर्माण गर्न नसकेको र यस पटक पनि नगरपालिकाबाट १५ लाख बजेट र वडाबाट ८ लाख बजेट विनियोजन गरेको उनको भनाई छ । उनले जग्गा नभएकोले भवन निर्माण गर्न नसकेको बताए । उनले सबैलाई पायक पर्ने ठाउँमा वडा कार्यालय राख्नुपर्ने तर त्यो ठाउँमा सबै कुराको सुविधा नभएको बताए । वडा नम्बर ९ का वडा अध्यक्ष प्रेमबहादुर आग्रीले पनि वडा भवन बनाउनका लागि नगरपालिकासँग बारम्बार माग गरेको र नगरपालिकाले वडा भवन बनाउन कुनै चासो नदिएको बताए ।

 

वडा नम्बर १ को वडा भवन विद्यालयको भवनबाट चलिरहेको छ । २०७४ सालबाट नै उक्त वडा विद्यालयको भवनबाट चल्दै आएको वडा नम्बर १ का वडा अध्यक्ष दिनेश पुलामी मगरले जानकारी दिए । उनले विद्यालयको भवन अन्य ठाउँमा सरेको हुँदा आफूहरूले निःशुल्क रूपमा विद्यालयको भवनबाट वडा कार्यालय सञ्चालन गरेको बताए । उनले यस वर्ष अन्य वडामा भवन बनाउने भनी नगरपालिको निर्णय गरेको हुँदा अर्को वर्ष यहाँ वडा भवन निर्माण गर्ने प्रतिबद्धता जनाए ।

 

वडा कार्यालय सञ्चालनका लागि ग्रामीण क्षेत्रमा आवश्यकताअनुसारका भवन नपाउँदा टिनको छानोमै वडा कार्यालयको कामकाज सञ्चालन भइरहेको उनले बताए । यसले एकातर्फ महत्त्वपूर्ण कागजात र सामानहरू चोरी हुन सक्ने जोखिम बढेको छ । वडा नम्बर ७ को वडा कार्यालय भाडामा चलेको हुँदा वडाले भाडा बापत २ लाख ८८ हजार खर्च गरेको छ । यस्तै वडा नम्बर ९ ले मासिक ८ हजार तिर्दै आएको छ । यसरी मासिक ८ हजारका दरले रकम तिर्दा वडाको ६ वर्षमा ५ लाख ७६ हजार खर्च भएको छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २०८० भदौ ८ गते शुक्रबार