एमाले कर्णालीलाई अधिवेशनको ज्वरो : सुर्खेतमा उपेक्षा गरेको इन्चार्ज बोगटीको गुनासो

खबरदृष्टि सम्वाददाता ९ भाद्र २०८०, शनिबार १६:०७

सुर्खेत । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् सुर्खेत जिल्ला ईन्चार्ज गोरखबहादुर बोगटी एमाले सुर्खेत जिल्ला पार्टीका गतिविधिहरु प्रती असन्तुष्ट बनेका छन्। जिल्ला ईन्चार्जको जिम्मेवारी पाएका बोगटीलाई एमाले सुर्खेतका गतिविधिमा संलग्न नगराएको भन्दै सामाजिक संजालबाटै विरोध गर्दै आएका छन्।

 

उनले आज पनि एक फेसबुक स्ट्याटस लेख्दै यसअघि पनि सार्वजनिक रूपमै सूचना गरेको र पार्टी केन्द्रबाट भएको पछिल्लो कार्यविभाजन अनुसार आफूलाई सुर्खेत जिल्लाको इन्चार्जको जिम्मेवारी दिएको र आफ्नो भौगोलिक कार्यक्षेत्र सुर्खेत जिल्ला रहेको पुनः जानकारी गराएको बताएका छन्। खास गरी उनको असन्तुष्टि अर्का स्थायी कमिटी सदस्य यमलाल कँडेल प्रति छ। केन्द्रले कँडेलको जिम्मेवारी दैलेख तोके पनि आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्र रहेको सुर्खेतमा पार्टी गतिविधि जारी राखेपछि बोगटी असन्तुष्ट बनेका हुन्।

  मोहन बडूवालको प्रवेश पछि बोगटी टिम सशङ्कित 

 एकीकृत समाजवादी पार्टीका अध्यक्ष मोहनकुमार बडूवाल एमाले प्रवेश पछि कँडेल टिम थप मजबुत हुने र यसले प्रदेश अधिवेशनमा प्रभाव पार्न सक्ने डर बोगटी टिमलाई छ। सुर्खेतको राजनीतिमा निर्णायक हैसियत बनाएका केन्द्रीय सदस्य नवराज रावत मोहन बडूवाललाई प्रदेश अधिवेशन अघि पार्टीमा ल्याउने पक्षमा थिएनन्।

 

कँडेलले बडूवाललाई प्रवेश गराउँदा टिममा सक्रिय भए जिल्ला उपाध्यक्ष बनाउने सहमति गरेको हुनसक्ने अनुमान रावत पक्षको छ। अधिवेशनमा प्रतिनिधिहरू छनौट गर्दा सुर्खेत जिल्लाको हिस्सा ठुलो हुनेभएकोले दुवै टिमले सुर्खेतलाई विशेष ध्यान दिएका छन्। रावतको अनिच्छाका कारण प्रदेश सभाको निर्वाचन अघि बडूवाल एमाले फर्कने योजना रोकिएको थियो। कँडेलले एमाले फर्के सुर्खेत २ ‘ख’ को टिकट दिने सूचना बडूवाललाई पठाए पनि रावतको आनाकानीले बडूवाल तत्कालीन समयमा एमाले फर्केनन्।

 

बडूवाल युवा पुस्ता माझ लोकप्रिय भएकोले सुर्खेत पश्चिमको राजनीतिमा आफू पछि पर्ने डर रावतलाई छ। बोगटीले भनेका छन्, ‘मैले आफ्नो जिम्मेवारी पाएपछि विगत असार महिनादेखि सुर्खेतको पार्टी काममा निरन्तर लागिरहेको छु । यो जिल्लासँग जोडिएका पार्टी कामका लागि सूचना दिन, लिन र सल्लाहमा सामेल गराउन  सम्बन्धित सबै कमरेडहरूलाई बारम्बार भन्दै आएको छु । तैपनि सल्लाह लिने तथा पूर्व  जानकारी दिने विषयमा जिम्मेवार नेताहरूबाट त्यति हुन सकिरहेको छैन ।’

 

उनले यस विषयमा बिशेषगरी पार्टी जिल्ला कमिटीका पदाधिकारीलाई ध्यान दिन सूचित गरेका छन्। बोगटीले भौगोलिक कार्यक्षेत्रको जिम्मेवारी अनुसार काममा जुट्ने जुटाउने विषयमा सबैले ध्यान दिन आग्रह गरेका छन्।यसबारेमा थप प्रतिक्रिया लिन खोज्दा बोगटीको फोन उठेन। एमाले प्रदेश कमिटी सदस्य तारा केशर गौतमले जिल्ला इन्चार्ज जस्तो व्यक्तिले जिम्मेवारी अनुसारको काम गरौँ भनेर सामाजिक सञ्जालमा लेख्नुपर्ने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको बताए।

 

विधि, विधान र पद्धतिको रटान लगाउनेहरूले नै विधि मिच्दै जाँदा पार्टीलाई थप अराजकता र गुटबन्दीतर्फ लैजाने बताए। सुर्खेत जिल्लाका पार्टी गतिविधिहरू हास्यास्पद, अलोकतान्त्रिक र आपत्तिजनक भएको गौतमको ठम्याइ छ। तर, एमाले सुर्खेतका सचिव कवीन्द्रकुमार केसीले जिम्मेवारीमा बसेका नेताले सामान्य कार्यकर्ताहरूले बोलेजस्तो बोल्न नहुने बताउँछन् ।

 

उनले पार्टी कार्यालयमा बसेर चिया गफ गर्न र सामान्य पार्टी गतिविधि गर्न कुनै नेतालाई सोधिरहने विषय नभएको भनाइ राखे । जिल्ला कमिटीले सबै नेताको यथोचित मान मर्यादा गरिरहेको र  पार्टीको पक्षमा गतिविधिहरू गरिरहनु सामान्य कार्यकर्ताको पनि अधिकार भएको सचिव केसीको भनाइ छ। केसीले केही ‘मिसअण्डरस्ट्याडिङ्’ भए जिल्ला कमिटीलाई सुझाव दिन अनुरोध गरे।

 

कर्णालीमा बन्यो टिम

एमालेले सातै प्रदेशमा प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेबमोजिम कर्णाली प्रदेश कमिटीको अधिवेशन आगामी असोज १० र ११ गतेलाई तोकिएको छ। कर्णाली प्रदेशमा एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेल र अर्का स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीका नाममा अघोषित टिम विभाजन गरिएको छ।

कँडेल टिममा एमाले पोलिटब्युरो सदस्य गुलाबजंग शाह, लक्ष्मी पोखरेललगायतका नेताहरू सक्रिय छन् भने बोगटी टिममा नवराज रावत, नगेन्द्र शाही (नेशनल) दल रावललगायतका नेताहरू छन्। विष्णु रिजाल, मोहन बानियाँ, भैरव सुन्दर श्रेष्ठ,रतन योगीलगायतका नेताहरूले कित्ता क्लियर नगरिसकेको एक एमाले प्रदेश कमिटी सदस्य वताउँछन।

 नेतृत्वका लागि हानथाप 

कर्णाली प्रदेशको नेतृत्व हत्याउन नेता कार्यकर्ताहरू बिच तीव्र ध्रुवीकरण सुरु भैसकेको छ। यथा अवस्थामा कर्णाली प्रदेश अध्यक्षका लागि सुर्खेतका धुर्बकुमार शाही, दैलेखका राजबहादुर शाही र कालिकोटका मीनबहादुर शाहीले लविङ् सुरु गरेका छन्। प्रदेश अध्यक्षको हैसियत पोलिटब्युरो सदस्य बराबर हुने र पद कार्यकारीसमेत हुनेभएकोले केन्द्रीय तहका नेताहरूको पनि रुचिको विषय बनेको एक नेता बताउँछन् ।

 

अधिवेशनमा सर्वसम्मत भए प्रदेश अध्यक्षका लागि पार्टी पोलिटब्युरो सदस्य गुलाबजंग शाह, लक्ष्मी पोखरेल, राजबहादुर बुढा, विष्णु रिजाल, निरज आचार्य, मोहन बानियाँलगायतका नेताहरुले पनि दाबी गर्ने एक अर्का एमाले नेता बताउँछन्।  सचिवका लागि सुर्खेतका तारा केशर गौतम, टेकेन्द्रकुमार बस्नेत, दैलेखका रुद्र शाहीलगायतले लविङ् गरिरहेको बताइन्छ।

Next Post

सहकारीहरुको सिकाइ व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न

९ भाद्र २०८०, शनिबार १६:०७
सुर्खेत । प्रोवेशन कार्यक्रममा आवद्ध साकोसहरुको सिकाई आदानप्रदान गर्ने कार्यक्रम भेरि कर्णाली क्लस्टर प्रथम को ३३ औँ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला जनहितकारी साकोसको आयोजनातथा नेफ्सकूनको प्राविधिक सहयोगमा सम्पन्न भएको छ । वीरेन्द्रनगर सुर्खेत स्थित संस्थाको मुख्य कार्यालयको हलमा आयोजित कार्यक्रम संस्थाका अध्यक्षश्री हरिहरनाथ योगीको सभाध्यक्षतामा सम्पन्न भएको हो । […]
December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031