
सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिका नगर कार्यपालिकाको गेटमा कर्मचारीहरुले तालाबन्दी गरेका छन् । शनिबार नगर उपप्रमुख बिमलकुमार पुनबाट नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नरेन्द्र ओलीमाथि हातपात भएको भनिएको घटनाको बिरोधमा कर्मचारीहरुले गेटमा तालाबन्दी गरेका हुन् ।
गेटमा तालाबन्दी गरी सेवा ठप्प पार्दै कर्मचारीहरुले दोषिलाई कारबाहीको माग गर्दै सुरक्षाको माग गरेका छन् । कर्मचारीहरुले तालाबन्दीसंगै गेटमा ८ बुँदे माग सहितको ब्यानर टाँगेका छन् । उक्त माग समेटिएको पत्र कर्मचारीहरले नगर प्रमुख महेन्द्र केसीलाई पनि बुझाएका छन् ।
जसमा दोषिलाई कडाभन्दा कडा कारबाही र कर्मचारीहरुलाई भरपर्दो सुरक्षाको व्यवस्थाका साथै घटनाको छानविन गर्न उच्च स्तरीय न्यायिक समिति गठन गर्न माग गरिएको छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृतबाट कर्मचारीहरुको बैठक बसाल्नुपर्ने, कर्मचारीले कुनै गल्ती गरे कानुन वमोजिम कारबाही गर्नुपर्ने, जनप्रतिनिधि भएर आफैले कानुन बनाउने र कार्यान्वयनको समयमा कर्मचारीलाई दोषि देखाई आफु पन्छिने प्रवृत्ति रहेकोले आगामी दिनमा यसको अन्त्य हुनुपर्ने माग कर्मचारीहरुको छ ।
जनप्रतिनिधि र कर्मचारीका आ–आफ्ना भूमिका र कामहरु स्पष्ट तोकिएकोले नियमानुसार एक अर्का विचको काममा हस्तक्षेप गर्न नपाइने माग पनि कर्मचारीले राखेका छन् । साथै कर्मचारीहरुको हकहितका लागि आवाज उठाउन ट्रेड युनियन, संघ संगठनलाई अपिल समेत गरिएको छ । कर्मचारीहरु आन्दोलित बनेपछि नगरपालिकाको सेवा ठप्प भएको छ ।