२०८३ वैशाख ११ , शुक्रबार

शिवालय गाउँपालिकामा आफ्नै स्थानीय पाठ्यक्रम निर्माण



सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ८ सम्मको “शिवालयकाे चिनारी” नामक स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय विषयवस्तुलाई समेटेर गाउँपालिकाका सबै विद्यालयमा आधारभूत तह (कक्षा १ देखी ८ सम्म) मा स्थानीय पाठ्यक्रम लागू गर्ने गरी पाठ्यक्रम निर्माण गरिएको गाउँपालिका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख मानबहादुर बस्नेतले खबरदृष्टिलाई जानकारी दिए ।

 

स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षाको अधिकारसँगै आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले समेत सबै स्थानीय तहले आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) स्थानीय विषयवस्तुलाई समेटेर पाठ्यक्रम बनाउन निर्देशन गरेको छ । सोही अधिकार र निर्देशन अनुसार स्थानीय पाठ्यक्रम निर्माण गरिएको उनले बताए ।

 

उनका अनुसार पाठ्यक्रममा गाउँपालिकाको परिचय, स्थानीय जातजाति, भेष भूषा, भाषा, धर्म, पालिका भित्र रहेका सम्पदाहरू समेटिएका छन् । यस्तै परम्परागत खेती आवश्यकता, सम्भावना, स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको छ । पाठ्यक्रममा वनजंगल, कृषि, ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, पर्यटन लगायतका क्षेत्रलाई समेटेर पाठ्यक्रम निर्माण गरिएको उनले बताए ।

 

गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीले पाठ्यक्रम निर्माण गर्दा स्थानीयतालाई नै प्राथमिकता दिएर निर्माण गरिएको बताए । उनले विद्यार्थीलाई आफ्नो भूगोल, संस्कृति, धर्म र रीतिरिवाजका विषयमा थाहै नभई उच्च शिक्षा अध्ययनमा पुग्ने र स्थानीय संस्कार संस्कृतिका बारेमा बेखबर हुने परिपाटीको अन्त्यका लागि कक्षा १ देखि ८ सम्म लागु हुने गरी एक विषय स्थानीय पाठ्यक्रम बताए ।

 

‘विद्यार्थीले राष्ट्रिय, अन्तर्राष्ट्रिय कुरा सिकेका हुन्छन् तर आफ्नै गाउँ, आफ्नै ठाउँको विषयमा जानकारी पाएका हुँदैनन्,’ अध्यक्ष शाहीले भने, ‘कम्तीमा आफ्नो पालिकाको भूगोल, सामाजिक अवस्था, इतिहास, पर्यटकीय स्थलको सामान्य ज्ञान पनि होस भन्ने हो ।’ गाउँपालिकाको विभिन्न सम्पदाहरू समेटेर निर्माण गरिएको पाठ्यक्रममा विद्यार्थीले पढेर सबै कुरा सिकुन् भन्ने उद्देश्य रहेको अध्यक्ष शाहीको भनाइ छ ।

 

शिक्षालाई गुणस्तर बनाउने अभिप्राय र गाउँपालिकाको समग्र जनजीवनका बारेमा अवगत गराउन पाठ्यक्रम निर्माण गरिएको उनले जानकारी दिए । पाठ्यक्रमबाट विभिन्न मौलिक कलाको बारेमा जान्ने, संस्कृतिको विकास, समृद्धिको विकास गर्न टेवा पु¥याउने उनको विश्वास छ । विद्यार्थीको व्यवहार, सिप, नैतिकता, अनुशासन र आचरणमा परिवर्तन ल्याउने खालका विषयवस्तुहरू पनि समेटिएको पालिका अध्यक्ष शाहीले बताए ।

 

उनले स्थानीय पाठ्यक्रमले विकास निर्माणमा समेत केही सहयोग पुग्ने विश्वास आफूले लिएको बताएका छन् । शिवालय गाउँपालिकाका ४० वटा सामुदायिक विद्यालयमा उक्त पाठ्यक्रम १३ गते एक कार्यक्रमको आयोजना गरी विद्यालयहरूलाई हस्तान्तरण गरिने बताइएको छ ।

प्रकाशित मिति : २०८० भदौ १० गते आइतबार