
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–३ बस्ने वर्ष २७ का हरि खत्री र सोही ठाउँ बस्ने वर्ष २२ का टोप्रेन्द्र शाही रहेका छन् ।
दाङबाट जुम्लातर्फ आउँदै गरेको क १ ख १० नम्बरको ट्रकलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरूलाई वीरेन्द्रनगर–११ सुब्बाकुना चेक पोष्टबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले ट्रक चालक बस्ने सिटमाथि मिटर बोर्डभित्र १ प्याकेट (नापतौल गर्न बाँकी) अवैध लागुऔषध ब्राउन सुगर लुकाई छिपाई राखेको थिए । उक्त लागुऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० भदौ १० गते आइतबार