
सुर्खेत । सिँजाको ऐतिहासिक केदारनाथ महोत्सव सुरु भएको छ । साउन पूर्णिमा, एकादशी केदारनाथको मेला, भारा न्हान्य, गौजो काट्ने वर माग्ने मेला भन्ने मूल नाराका साथ सिँजा गाउँपालिका– ४ विकट बस्तीमा रहेको बारेगाउँ नजिकैको केदारनाथ मन्दिरमा महोत्सव आयोजना गरिएको हो ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा स्याँउ प्रदर्शनीसमेत हुने पालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । उनले केदारनाथको ऐतिहासिक तथा धार्मिक महत्व भएको बताउँदै उचित प्रचारप्रसारको अभावमा सधैँ ओझेलमा परिरहेको बताए । महोत्सव आयोजना गरेर धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य राखिएको उनको भनाई छ ।
पुर्खाहरूको योगदान, खसहरूको विरासत, भाषा संस्कृतिको जननी, नाथहरूको नाथ, साउनको शुक्ल एकादशी पुण्यकर्म र पर्यटन प्रवर्द्धन गर्न पुगौँ केदारनाथ भन्ने नारासमेत महोत्सवको तय गरिएको छ । महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीलगायतका अतिथिले गरेका हुन् ।