२०८३ वैशाख ११ , शुक्रबार

नेता दानबहादुर शाहीलाई एमालेले गर्‍यो निलम्बन



कालीकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) कालीकोटले जिल्ला कमिटी सदस्यबाट दानबहादुर शाहीलाई निलम्बन गरेको छ । आफ्नी कान्छी श्रीमतीलाई ‘तेरो बाबु मैले मारेको हो तँलाई पनि मार्छु’ भन्दै ज्यान मार्ने धम्की दिएको समाचार प्रकाशित भएपछि उक्त विषयमा कानुनी निकायबाट छानबिन नहुँदासम्मका लागि नेकपा एमाले कालीकोटले एक विज्ञप्ति प्रकाशित गर्दै शाहीलाई जिल्ला कमिटी सदस्यबाट निलम्बन गरेको हो ।

 

शाहीकी कान्छी श्रीमती गीताले शाहीविरुद्ध मुद्दा दर्ता गरेपछि विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूलाई मध्यनजर गर्दै उनलाई पार्टीबाट निलम्बन गरिएको एमाले कालीकोटका पार्टी अध्यक्ष जसिप्रसाद पाण्डेले जानकारी दिए । नेता शाहीले गीता जैसीलाई लेखेको म्यासेजमा तेरो बुवाको हत्या पनि आफूले गाउँकै केटा लगाएर भिरबाट धकेलेर गरेको र तेरो हालत पनि त्यस्तै बनाइदिने भनेर धम्की दिएका थिए ।

 

उनले धेरै पटक लेखेको म्यासेजमा वकिल, न्यायाधीशलाई किनेको, पैसा भएमा सब थोक हुने भन्दै कान्छी श्रीमती र उसबाट जन्मेको छोराको हालत पनि त्यही बनाइदिने भनेका छन् । उनले आफैँले जन्माएको छोरालाई पनि मारिदिने भनेका छन् ।म्यासेन्जरमा लेखेको चेतावनीमा ‘कान्छी श्रीमतीलाई तेरो छोरालाई पनि मान्छे लगाएर मार्छु, ठकुरीको छोरा हो पछि हट्दैन ।

 

तेरो छोरा मारेपछि कसरी अंशबन्डा लिन्छेस्’ भन्दै विभेदकारी शब्दले गालीसमेत गरेको प्यासेन्जरमा देखिन्छ । गीतालाई मुद्दा फिर्ता गर्न चेतावनी दिएको प्रमाणसहित शाहीविरुद्ध प्रहरीमा उजुरी दिए पनि प्रहरीले चासो नदिएको गीता जैसीको भनाइ छ । आफू हिंसामा परेको भन्दै धेरै पटक प्रहरीमा उजुरी परे पनि राजनीतिक पावरका कारणले प्रहरीले बिना कारबाही मेलमिलाप गराउँदै आएको थियो ।

यो पनि हेर्नुहोस् ।

कालीकोटमा मान्छे लगाएर हत्या गरेको नेता दानबहादुर शाहीको स्वीकार

प्रकाशित मिति : २०८० भदौ ११ गते सोमबार