
सुर्खेत । कर्मचारीमाथि हातपात भएको भन्दै रूकुम पश्चिमको मुसिकोट नगरपालिकाको कार्यालयको गेटमा लागेको ताला खुलेको छ । उपप्रमुख बिमलकुमार पुनले नगर शिक्षा, युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख नरेन्द्र ओलीमाथि हातपात गरेको भन्दै कर्मचारीले आइतबार नगरपालिका कार्यालयको मुख्य गेटमा तालाबन्दी गर्दै सेवा ठप्प पारेका थिए ।
सोमवार नगर उपप्रमुख र शिक्षा शाखाका निमित्त प्रमुख ओलीविच मेलमिलाप भएपछि ताला खुलेको हो । नगर उपप्रमुख पुनले कर्मचारीप्रति आफ्नो कुनै रिस नभएको र कर्मचारीको सुरक्षाप्रति संवेदनशील रहेको बताएका छन् । सानो कुरोलाई ठूदो बनाएर अवस्थालाई जटिल बनाउदा कसैलाई फाइदा नहुने भएकाले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि सचेत रहेको उनको भनाई छ ।
शिक्षा प्रमुख ओली र निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काको काँधमा काँध मिलाएर उपप्रमुख पुनले सौहार्दपूर्ण वातावरण बनाउने प्रयास गरेका थिए । त्यसपछि कर्मचारीले ताला खोलेका हुन् । उप्रमुख पुन र शिक्षा शाखा प्रमुख ओलीले कार्यकक्षमा हात मिलाएको फोटो पनि सार्वजनिक भएको छ । यो संगै नगरपालिकाको सेवा सुचारू भएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले सोमवार बिहान एक विज्ञप्ती जारी गर्दै ताला खोलि सेवामा फर्किन निर्देशन जारी गरेका थिए ।