२०८३ वैशाख ११ , शुक्रबार

काठेपुल जीर्ण हुँदा आवातजावतमा समस्या



रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा रहेको छराखोला र सल्लेचवर जोड्ने काठेपुल जीर्ण भएको छ । २०७५ साल वैशाखमा निर्माण भएको काठेपुल ५ वर्ष नबित्दै जीर्ण भएको सल्लेचवरका स्थानीय बमबहादुर केसीले बताए ।

पुल जीर्ण हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ । काठेपुल विशेषगरी आकाशे पानीले कुहिएको र जीर्ण भएको केसीले बताए । धेरै मान्छेले सँगै काठे पुल तर्दा बीचमा गएको बेला भाँचिने सम्भावना भएको छ । पुल जीर्ण हुँदा सल्लेचवर र खोलिबड गाउँका स्थानीयलाई पनि समस्या भएको छ ।

विशेषगरी दुई गाउँका स्थानीयले सास्ती व्यहोर्नु परेको छ । यस्तै वीरेन्द्र मावि बाँफिकोटमा पढ्न जाने विद्यार्थी पनि समस्या परेको अर्का स्थानीय बलबहादुर केसीको भनाइ छ । पानी परेको बेला चिप्लेर बालबालिका तिल्छा खोलामा पर्लान भन्ने डर स्थानीयमा छ ।

वडा नं ३ का अध्यक्ष तिलबिर केसीले कर्णाली प्रदेश सरकारबाट झोलुङ्गे पुलका लागि बजेट आएको र पुस महिनादेखि झोलुङ्गे पुलको काम शुरु गरिने बताए । झोलुङ्गे पुल बनेपछि त्यहाँका स्थानीयलाई सहज हुने वडा अध्यक्ष केसीको भनाइ छ ।

प्रकाशित मिति : २०८० भदौ १२ गते मंगलबार