२०८३ वैशाख १२ , शनिबार

भएका स्रोत साधनको सदुपयोग गर्न सके कर्णालीको विकास हुन्छ : उपाध्यक्ष शाही



सुर्खेत । सुन्दर नेपाल संस्थाको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको वार्षिक साधारण सभा शुक्रवार कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष हेमप्रकाश भुसालको अध्यक्षतामा वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको हो । ‘सुन्दर, आदर्श र समुन्नत समाजको परिकल्पना समाज विकास, परिवर्तन र न्याय हाम्रो चाहना’ भन्ने मूल नाराका साथ साधारण सभा सम्पन्न भएको संस्थाका कार्यकारी निर्देशक भुपेन्द प्रसाद कँडेलले सञ्चालन जानकारी दिए ।

सभामा हाल संस्थाले भकारी परियोजना, कृषि तथा पशु उद्यमशीलता विकास परियोजना, जलवायु परिवर्तन, ऊर्जा तथा वातावरण परियोजना, सुरक्षित पानी परियोजना, होप मानवीय सहायता परियोजना, भेरी पूर्व सूचना प्रणाली सहयोग कार्यक्रम, भिटा लगायतका १२ वटा परियोजनाहरू मार्फत कर्णाली र सुदूरपश्चिम प्रदेशका ६ वटा जिल्लाका करिब ७१ हजार ७३३ जना व्यक्ति लाभान्वित भएको संस्थाका सचिव हिरामणि पौड्यालले प्रतिवेदन पेस गरेका थिए ।

संस्थाले गत आर्थिक वर्षमा जम्मा ९ करोड ६३ लाख १८ हजार ७ सय ८६ रुपैयाँ पैसा बराबर खर्च गरेको थियो भने आगामी वर्षका लागि १० करोड ६१ लाख ७० हजार तीन सय १८ रुपैयाँ ३२ पैसा बराबर प्रस्तावित आय व्यय पेस भएको छ । संस्थाले गत आर्थिक २०७९/०८० मा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरू कार्यक्रम संयोजक ओम प्रकाश थापा र स्थानीय सहजकर्ता गोमा हमाललाई प्रशंसा पत्र र दोसल्लाबाट पुरस्कृत गरिएको थियो ।

संस्थाको साधारण सभामा स्वास्थ्य, सरसफाइ तथा सामाजिक सेवा गरे सामाजिक अभियान्ता डा. नवराज के.सी लाई सम्मान पत्र र दोसल्लाबाट सम्मान गरिएको थियो । उक्त साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष शाहीले सुन्दर नेपाल संस्थाले सञ्चालन गरेका कार्यक्रमहरू अत्यन्तै प्रभावकारी भएको बताएका थिए ।

कर्णाली प्रदेश प्राकृतिक स्रोत साधनले भरिपूर्ण भएको र त्यसलाई सही सदुपयोग गर्न सकेमा मात्र कर्णाली प्रदेशको विकास हुने उनको भनाई थियो । सुन्दर नेपाल संस्था जस्ता संस्थाहरूले कर्णाली प्रदेशको विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेको कुरा व्यक्त गर्दै उनले आगामी दिनहरूमा अझै सक्रियताका साथका काम गर्न सुझाव दिए ।

अहिले पनि प्रदेश सरकार पुग्न नसकेका ठाँउहरुमा सुन्दर नेपाल संस्था जस्ता संस्थाहरूले विकास निर्माणका थुप्रै खालका उदाहरणीय कार्यहरू गरेको भनी प्रशंसा गरेका थिए । विशेष अतिथि एवम् भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले सुन्दर नेपाल संस्थाले सामाजिक उद्यमी महिला सहकारी संस्थाहरू मार्फत पनि महिला कृषकहरूको पक्षमा निकै राम्रा कामहरू गरेको धारणा राखेका थिए ।

सुन्दर नेपाल संस्थाले राज्य पुग्न नसकेका ठाँउहरुमा पुगेर काम गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गरेका थिए । साथै उनले सरकारको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई पुरा गर्नका लागि राज्य तथा सङ्घ संस्थाहरू दूर दराजका बस्ती, गरिब, दलित तथा दुखीहरूको बस्तीमा पुगेर काम गर्न सकेको खण्डमा मात्र समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुने कुरा बताए ।

कार्यक्रममा गैर सरकारी संस्था महासङ्घ,विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, दातृ निकायका प्रतिनिधिहरु, पत्रकारहरू लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण भने संस्थाका कार्यकारी निर्देशक कँडेलले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २०८० भदौ १५ गते शुक्रबार