
बिजुली हमाल
कुलेन्द्र शाही सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर–२ स्थित दुर्पालामा एउटा सानो खरले छाएको झुपडी छ । धुवाँले रङ्गिएको कालो भित्ता भएको झुपडीको एक कुनामा बुढेसकालले छोएकी एक वृद्धा आमा बस्छिन् । उनको नाम हो बिजुली हमाल । हमाल अहिले घरमा एक्लै बस्छिन् । उनका श्रीमानको केही वर्ष अगाडि निधन भइसकेको छ । बेसहारा बनेकी उनी अहिले ७० वर्षकी भइन् ।
सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बापतको तीन महिनाको १२ हजार रकम उनले पहिलो पटक सिम्ता गाउँ पालिकाको जामुने बजारमा गएर बुझेकी थिइन । पहिलो पटक भत्ता बुझेपछि उनको खुसीको सीमा नै थिएन। पैसा लिएर उनी घर फर्किन । उनले आफूले पाएको भत्ताले एउटा मोबाइल र उनलाई आवश्यक परिरहने औषधिमा खर्च गरिन् ।
पछिल्लो पटक भने उनले गाउँबाटै भत्ता बुझिन् । गाउँमै भत्ता वितरण पछि उनी झनै निकै खुसी भएको बताउँछिन् । ’अहिले त राकम जानै परेन, घरमै ल्याएर पैसा दिए। सानोतिना खर्चका लागि कसैसँग पैसा माग्नुपर्दैन। बुढेसकाल लागेपछि बिरामी हुँदा ऋण खोज्नुपर्दैन,’ हमालले सरकारले दिएको सुविधा प्रति खुसी हुँदै भनिन। उपचार गर्दा होस कि मिठो मसिनो खाँदा अरूको भर पर्नु पर्ने बाध्यता हटेको छ।
पैसा नहुँदा अरूसँग पैसा माग्न हात थाप्नुपर्ने बाध्यता हटेको भन्दै हमालले खुसी व्यक्त गरिन् । सरकारले वृद्ध अवस्थामा पुगेका आफू जस्तालाई सहयोग गरेकोमा धन्यवाद दिइन। यस्तै, सोही ठाउँकै अर्की एक ८० वर्षीय मनैकली थापा पनि वृद्धा भत्ता पाउँदा निकै खुसी भएको बताउँछिन् । सरकारले दिएको पैसाले आफूहरूको राम्रोसँग जीविकोपार्जन भइरहेको उनको भनाइ छ।
मनैकलीसँगै उनका श्रीमान् महेन्द्र थापाले पनि सरकारले दिएको वृद्धभत्ता बुझ्ने गर्दछन्। गाउँमा उनलाई ‘माँझाघर’ भनेर चिन्ने गर्दछन् । उमेरले उनीहरू डाँडापारिको घाम बनेका छन् । मनैकली अहिले ८० वर्षकी भइन् । उनी ८० वर्षकी भए पनि उनको नागरिकता बनाउन ढिलो भएकाले अहिलेसम्म दुई पटक मात्रै वृद्ध भत्ता पाएकी छन् । उनले सुरुमा गत वर्षको कार्तिकमा वृद्ध भत्ता बुझेकी थिइन।

मनैकली थापा
भत्ताले जीवन जिउन सजिलो भएको उनको पनि भनाइ छ। उनको चाउरी परेको अनुहारमा भत्ताले असङ्ख्य खुसी ल्याइदिएको छ। भत्ता बुझ्न जामुने बजार जाने गरेकी उनलाई स्थानीय सरकारले वृद्धभत्ता गाउँमै ल्याइदिन थालेपछि झनै सजिलो भएको उनले बत्ताइन। यस्तै, जाजरकोटको शिवालय गाउँपालिका–५ थालारैकरकी आइती शाहीले पनि गत वर्षको माघमा १२ हजार भत्ता बुझिन् ।
२ वर्ष अगाडि सामाजिक सुरक्षा भत्ता पाउन सुरु गर्दा खुसीको सीमा नै नरहेको उनको भनाई छ। उनले भनिन्, ‘सरकारले हामीजस्ता वृद्धा तथा गरिब दुःखी परिवारका लागि वृद्ध भत्ता दिएर ठुलो गुन लगाएको छ।’ उनीहरू मात्रै होइन, जिल्लामा रहेका अधिकांश ज्येष्ठ नागरिकहरू वृद्ध भत्तामा भएको वृद्धिले खुसी छन् । जीवनमा कोही नभए पनि सरकार रहेको भन्दै उनीहरू हर्षित भएका छन् ।
अहिले वृद्ध वृद्धाहरू परिवारका सदस्यहरूको आस मान्ने नभई उल्टो परिवारका सदस्यहरूले नै सामाजिक सुरक्षा भत्ता बुझ्ने ज्येष्ठ नागरिकहरूको आशा मान्न थालेका छन्। विसं २०५१ मा नेकपा एमालेको अल्पमतको सरकार बनेपछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालाबाट महिनाको १ सय रुपैयाँबाट सुरु भएको वृद्ध भत्ता केपी शर्मा ओलीको नेकपाको सरकारको पालाबाट प्रति महिना ४ हजार रुपैयाँ पुगेको छ ।
युवा अवस्थामा जस्तोसुकै श्रम गर्न सक्ने व्यक्तिहरू बुढेसकालमा शरीरमा जोस, जाँगर र फुर्तिलोपन हराउँदै जान्छ। शरीर शिथिल हुँदै गएपछि शारीरिक श्रम गर्न नसक्दा अरूहरूकै कमाईकाजमा बाँच्नुपर्ने बाध्यता रहेकोमा अहिले सामाजिक सुरक्षा भत्ताले त्यो बाध्यता हटाइदिएको छ। फुर्तिलो शरीर वृद्ध अवस्थाका कारण बिस्तारै कमजोर बन्दै जाँदा सामाजिक सुरक्षा भत्ता नै उनीहरूको जीवन जिउने सहारा बनेको छ ।
सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता उनीहरूका लागि जीवन जिउने सहारा बनेको हो । मासिक चार हजार सामाजिक सुरक्षाभत्ताले उनीहरूलाई खाना बस्न र सामान्य लुगा लत्ता र चाडबाड मान्ने सहज अवस्था ल्याइदिएको छ। भत्ताले उनीहरूको घरमा साँझ बिहान चुलोमा सहजरूपीमा आगो बल्न थालेको छ । सामान्य जीवनयापन गर्नसमेत अप्ठ्यारोमा परेका ज्येष्ठ नागरिकहरूलाई वृद्ध भत्ताले नुन, तेल, चामल, दाल किन्न सहयोग पुगेको छ ।
एकल महिला तथा सन्तान गुमाएका आमाहरूका लागि सरकारी भत्ताले खुसी मात्रै ल्याएको छैन उनीहरूलाई बाँच्न सहज बनाइदिएको छ । नेकपा एमालेको ९ महिने अल्पमतको सरकारले सुरु गरेको वृद्ध भत्ताले वृद्ध अवस्थामा पुगेका महिला र पुरुषका लागि जीवन जिउन सहज बनाइदिएको छ। अपहेलित र तिरस्कारयुक्त जीवन बाँच्नुपर्ने बाध्यतामा पुगेका ज्येष्ठ नागरिकहरूका लागि सञ्जीवनी बुटी बनेको छ।