२०८३ वैशाख ११ , शुक्रबार

कृषि मन्त्री सहितको विज्ञ टोली कृषकाे सुन्तला बगैँचामा



सल्यान । सल्यानको सुन्तलामा देखिएको पिंक रोग (गुलाबी रङ्ग) को उपचारका लागि कृषि मन्त्री सहितको विज्ञको टोली किसानको बगैँचामा पुगेको छ । सुन्तला जातको फलफूलमा लागेको रोग परीक्षण भए लगतै किसानको समस्या समाधान गर्न कृषि मन्त्री भीम प्रकाश शर्मा किसानसँग सरकार कार्यक्रम अन्तर्गत विज्ञ सहितको  प्राविधिक टोली सहित किसानको सुन्तला बगैँचामा पुग्नुभएको हो ।

 

राष्ट्रिय वाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारको प्रयोगशालामा  सल्यान जिल्लामा सुन्तला जातको फलफूलमा लागेको रोगको नमुना परीक्षण गर्दा पिङ्ग  रोग  पत्ता लागेकोले रोग नियन्त्रणको लागि एकीकृत कृषि प्रयोगशालाको प्राविधिक टोली सहित मन्त्री शर्मा बागचौर नगरपालिका  ८ मा पुग्नुभएको हो ।

 

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, एकीकृत कृषि प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतको आयोजना तथा कृषि विकास कार्यालय सल्यानको व्यवस्थापनमा मन्त्री शर्माले किसानसँग अन्तरक्रिया गर्दै जिल्लाको पहिचानको रूपमा रहेको सुन्तला जातमा देखिएको समस्या र समाधान गर्न सुन्तला बगैँचा सुदृढीकरण अभियान मूलक बगैँचा व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको शर्माले बताउनुभयो ।

 

सुन्तलाको पकेट क्षेत्र कोटमौलामा सुन्तला बगैँचामा देखिएको रोगको उपचारको लागि कर्णाली प्रदेश सरकारले विज्ञ सहितको टोली बोलाएर रोग पत्ता लगाई उपचार गरिरहेको कृषि मन्त्री शर्माले जानकारी दिनुभयो । मन्त्री शर्माका अनुसार किसानहरूलाई तालिम दिएर रोग नियन्त्रणका लागि, विषादी वितरणका साथै प्रयोगको विषयमा बगैँचामै पुगेर कार्यक्रम अगाडि बढाइएको हो ।

 

उहाँले किसानसँग सरकार कार्यक्रम अन्तर्गत हरेक किसानसँग सहकार्य गर्न र समस्याको समाधानका लागि किसान सँगै सरकार लागि परेको बताउनु भयो । बढी ओसिलो र न्यानो वातावरण भएको आषाढ देखि साउन, भदौसम्म सुन्तलाका बोटका हाँगामा यो रोगको ढुसीले आक्रमण गर्ने कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेसम कुमार बस्नेतले जानकारी दिनुभयो ।

 

सुरुमा यो रोगले छोएको ठाउँमा पानीले भिजेको जस्तो देखिने बिस्तारै रोगले ग्रस्त पार्दै जाने र वर्षा पनि सकिएपछि बिस्तारै हाँगाको बोक्राको तन्तु मर्दै जाने र सुक्न थाल्ने लक्षण देखिने बस्नेतको भनाई छ ।

प्रकाशित मिति : २०८० भदौ १६ गते शनिबार