२०८३ वैशाख ११ , शुक्रबार

तिलिचोभन्दा अग्लो स्थानमा रहेको नयाँ ताल डोल्पामा !



डोल्पा । हिमाली जिल्ला डोल्पामा विश्वकै अग्लो स्थान अर्थात तिलिचो तालभन्दा पनि उचाइमा पर्ने अर्को ताल भेटिएको छ । डोल्पामा भेटिएको ताल समुद्र सतहदेखि ५,१९० मिटर उचाइमा फेला परेको बताइएको छ । समुद्र सतहदेखि ४ हजार १ सय मिटर उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिका ६ मा पर्ने फालगाउँको हिमालमा नयाँ तालको पहिचान गरिएको हो ।

जसलाई स्थानीयले ‘कुन्ख्येन फालक’ नामले चिन्छन् । यो ताल नेपाल(चीनको सीमा नजिक रहेको डोल्पो बुद्ध गाउँपालिका-६ का वडाध्यक्ष नुर्बु डम्डुल गुरुङले जानकारी दिए । ताल रहेको स्थानबाट चीनसँगको १५ नम्बर सीमा स्तम्भ पुग्न करिब दुई घण्टाको पैदल दूरी रहेको स्थानीय बताउँछन् । वडाध्यक्ष गुरुङ र डोल्पो बुद्ध गाउँपालिकाका उपाध्यक्ष पेमा धोर्चे गुरुङको पहल तथा स्थानीयको सहयोगमा तालको उचाइ मापन गरिएको हो ।

आफूहरुसँग भएको जीपीएसले ताल रहेको स्थानको उचाइ ५,१९० मिटर देखाएको वडाध्यक्ष गुरुङले जानकारी दिए । तर आधिकारिक नियकायबाट यसको उचाइ मापन गरी प्रमाणित हुन भने बाँकी छ । ‘यो ताल पहिलेदेखि थाहा भए पनि अहिलेसम्म जो कोही सजिलै जान नसक्ने स्थानमा छ । त्यहाँ उच्च चिसो र हिमालमा बसोबास गर्ने भालुजस्तो देखिने खैरो रङको जनावरको डरले कोही जाँदैनन्,’ वडाध्यक्ष गुरुङले भने,

‘यो जनावरलाई यहाँको भाषामा छुक्टे भनेर चिनिने गरिएको छ ।’ उनले शनिबार गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र अन्य १७ जना स्थानीयको टिम फाल गाउँबाट ३र४ घण्टा पैदल हिँडेपछि ताल भएको स्थानमा पुगेर फर्किएको जानकारी दिए । स्थानीय जनप्रतिनिधिहरुले यो तालको उचाइ मापन गराउन र विश्वकै बढी उचाइमा रहेको ताल प्रमाणित गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

यता विश्वकै अग्लो स्थानमा रहेको हिमालय पर्वत शृंखलाअन्तर्गत मनाङ जिल्लाको अन्नपूर्ण क्षेत्रभित्र पर्ने तिलिचो ताल समुद्र सतहदेखि ४,९१९ मिटर उचाइमा छ । यस तालको लम्बाइ ४ किलोमिटर, चौडाइ १।२ किलोमिटर र गहिराइ सरदर २०० मिटर छ । तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमिको दूरीमा पर्छ ।

प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार