
सुर्खेत । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै अनेरास्ववियुले वीरेन्द्रनगरमा प्रदर्शन गरेको छ । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु कर्णाली प्रदेश कमिटीले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको हो । वीरेन्द्रनगरको हटिया लाइनबाट सुरु भएको विरोध प्रदर्शन क्याम्पस रोड हुँदै पुनः हटिया लाइनमै परिणत भएको थियो ।
अनेरास्ववियुका विद्यार्थी नेताहरूले मूल्य वृद्धिविरुद्ध प्रदर्शन गर्दै ‘प्रचण्डको पाराले दुःख पाए साराले’, ‘कर्णालीको एउटै स्वर सरकार भित्र चोरै चोर’, ‘विद्यार्थी आन्दोलन जिन्दाबाद’, ‘पेट्रोलियम पदार्थ ग्याँसको मूल्य वृद्धि फिर्ता गर’ लगायतका नारा लगाएका थिए । कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु कर्णाली प्रदेश कमिटीका सहसंयोजक मल्लले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा भ्रष्ट सरकारको रूपमा प्रमाणित भएको आरोप लगाए ।
उनले आफ्नै जनतालाई सुख र समृद्धि दिनुपर्नेमा उल्टै लुट्न र जनतालाई पिडा दिन मात्रै केन्द्रित भएको बताए । उनले जनतालाई मार्ने र सास्ती दिने काम तत्काल नरोके र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभए चरणबद्ध रूपमा सरकार विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए ।
अनेरास्ववियु स्थायी कमिटी सदस्यहरू निकुञ्ज पाण्डे, अनेरास्ववियु केन्द्रीय सदस्य आशिष रेग्मी, मध्यपश्चिम विश्व विद्यालय राष्ट्रिय कमिटी पदाधिकारी तथा सदस्य, मध्यपश्चिम विश्व विद्यालय क्याम्पस कमिटी, जिल्ला कमिटी सदस्य, सुर्खेत बहुमुखी क्याम्पस कमिटी र स्ववियू पदाधिकारी लगायत अन्य सदस्यहरूको समेत उपस्थिति रहेको कोणसभाको समापन अनेरास्ववियु स्थायी कमिटी सदस्य अम्मर शाहीले गरेका थिए ।