२०८३ वैशाख ११ , शुक्रबार

चार महिनादेखि सडक अवरुद्ध, बोटमै कुहिन थाल्यो स्याउ



सुर्खेत । लगातारको वर्षाले कोल्टी–मार्तडी र कर्णाली कोरिडोर सडक चार महिनादेखि अवरुद्ध छ। सडक अवरुद्ध हुँदा बाजुराका विभिन्न स्थानमा फलेका स्याउ बिक्री गर्न समस्या भएको छ। बुढीनन्दा नगरपालिका पाण्डुसैन, गजन्नाथ, स्वामी कार्तिक गाउँपालिका जुकोटमा कृषकहरूले उत्पादन गरेको स्याउ समयमै बिक्री गर्न नसक्दा बारीमै कुहिने चिन्ताले कृषक चिन्तित बनेका छन्।

किसान बहादुर रावतले बारीमा लटरम्म फलेको स्याउले बजार नपाउने चिन्ता लागेको बताए। चार महिनादेखि अवरुद्ध भएको सडक सञ्चालनमा नआउँदा कृषकले वर्षभरिको मिहिनेतका साथ फलाएको स्याउ बारीमै कुन थालेपछि आफू मर्कामा परेको रावतले बताए। रावतले यो वर्ष आफूले सात लाखभन्दा बढीको स्याउ बिक्री गर्ने लक्ष्य राखेका थिए। तर, त्यसका लागि सडक बाधक बनेको छ।

अर्का किसान धनबहादुर रावतले बारीमै स्याउ ६० देखि ७० रुपैयाँमा बिक्री गर्ने गरेको बताए। उनका अनुसार सदरमुकाम मार्तडी, कोल्टी, पिलुचौर बजारमा लैजान सके प्रतिकेजी स्याउको मूल्य दुई सयदेखि माथि पर्छ। कुहिने डरले उनले सस्तोमै स्याउ बेचेको बताए।

कृषि ज्ञान केन्द्र बाजुरा तथ्यांकअनुसार बाजुराको करिब तीन सय हेक्टरमा स्याउ खेती हुन्छ। वार्षिक ६ सयदेखि आठ सय मेट्रिक टनसम्म स्याउ उत्पादन हुने गरेको छ। यातायात अवरुद्ध हुँदा स्याउ बजारसम्म लैजान सकिएको छैन। बारीमै कुहिन थालेपछि किसानले सस्तोमा बेच्ने, पशु चौपायालाई खुवाउने गरेका छन्।

यता सडक डिभिजन कार्यालय अछामका विवश बाबु सदा देवले भने बर्सातले अवरुद्ध भएको कोल्टी–मार्तडी सडक एक हप्ता मौसम सफा हुने बित्तिकै सडक सञ्चालनका लागि डोजर लगाउने बताए। यदि मौसम सफा भएन भने दसैँ–तिहारयता सडक सञ्चालन गर्न नसकिने बताए।

प्रकाशित मिति : २०८० भदौ १९ गते मंगलबार