२०८३ वैशाख ११ , शुक्रबार

छत्रेश्वरीमा अपांगता भएका परिवारको निःशुल्क बिमा



सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाले ‘ख’ वर्गका अपांगता भएका व्यक्तिको परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेटमै रकमको व्यवस्था गरेर अपांगता भएकाहरूका परिवारको निःशुल्क बिमा गर्ने भएको हो ।

स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन ‘ख’ वर्गका अपांगता भएका परिवारलाई उत्साहित गर्न निःशुल्क बिमाको व्यवस्था गरिएको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले बताए । निःशुल्क बिमाका लागि पालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए ।

अपांगता भएका व्यक्ति र तिनका परिवारले बिमा योगदानको ५० प्रतिशत पालिकाले तिर्ने जानकारी दिए । उनले ५० प्रतिशत रकम कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने जानकारी दिए । अपांगता भएका व्यक्तिको परिवारको निःशुल्क स्वास्थ्य बिमाका लागि स्वास्थ्य बिमा बोर्डसँग सहकार्य भइसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८० भदौ १९ गते मंगलबार