
जगतीपुरमा लगाएको मकै बालीमा क्षति तस्बिर : हेमन्त केसी/रासस
जाजरकोट । सोमबार साँझ अविरल वर्षासँगै आएको हावाहुरीले जाजरकोटका विभिन्न स्थानमा किसानले लगाएका मकै बालीमा क्षति पुगेको छ । जाजरकोटको शिवालय गाउँपालिका, भेरी नगरपालिकाका विभिन्न स्थानमा किसानले लगाएका मकै बालीमा हावाहुरीले क्षति पु¥याएको हो ।
शिवालय गाउँपालिका वडा नं ६ को पाल्त, जाँत खतेना र काँडागाउँ, भेरी नगरपालिका–११ जगतीपुर लगायतका स्थानमा ठुलो मात्रामा मकैबालीमा क्षति पु¥याएको छ । बँदेल, बाँदर, स्याल लगायतले मकै बाली सखाप पारिरहेको वेला हावाहुरीले मकै ढालेपछि किसानहरू झनै चिन्तित भएका छन् ।
पश्चिम क्षेत्रबाट आएको हावाहुरीले विभिन्न ठाउँको मकैबालीलाई क्षति पु¥याएको हो । जगतीपुरमा भने यहाँको मुख्यबाली नै मकै हो । वर्षा र हावाहुरीले मकै भाँचिएपछि भोकमरी हुने भन्दै किसानहरू चिन्तित बनेका छन् । मकै ढलेर नष्ट भएपछि आफूहरूलाई निकै समस्या भएको स्थानीय किसान बिर्मा बिकले बताइन् ।