२०८३ वैशाख १२ , शनिबार

पूर्व मुख्यमन्त्री शाहीद्वारा अक्सिजन उत्पादन केन्द्रको उद्घाटन



मोहनसिंह वुढा, हुम्ला । हुम्लाको सदरमुकाम सिमिकोट स्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्रको स्थापना गरिएको छ । अक्सिजन उत्पादन केन्द्रको बिहीबार एक कार्यक्रमका बिच कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा कर्णाली प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले उद्घाटन गरेका हुन् ।

अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ । अस्पतालमा भएका सबै शय्यामा अक्सिजन पाइप जडान गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए । उनकाअनुसार प्रदेश सरकारको लागतमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको हो ।

केन्द्रमा उत्पादन भएको अक्सिजन सिधै बिरामीको बेड सम्म पुग्ने व्यवस्था मिलाइएको छ । पाइपबाट शय्या सम्ममै अक्सिजन आपूर्ति हुन थालेपछि श्वासप्रश्वास, आइसियुमा राख्नुपर्ने दम लगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको प्रमुख सिंहले बताए । अस्पतालमै अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिन्डर भर्न जिल्ला बाहिर नेपालगन्ज, सुर्खेत पठाउनुपर्ने बाध्यताका साथै समय र खर्चको बचत भएको छ ।

प्लान्टले एक दिनमा १२ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको प्रमुख सिंहको भनाइ छ । एक पटकमा तीन वटा सिलिण्डरमा अक्सिजन भर्न सकिने छ । यस्तै भारत सरकारले एक वर्ष अगाडी सहयोग गरेको एम्बुलेन्स जिल्ला अस्पताल हुम्लामा पुगेको छ । उक्त एम्बुलेन्स भारत सरकारले जिल्ला अस्पताललाई अनुदानमा उपलब्ध गराएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले उक्त एम्बुलेन्सको पनि उद्घाटन गरेका छन् । काठमाडौँबाट केरुङ, हिल्सा हुँदै सदरमुकाममा रहेको जिल्ला अस्पतालमा पुगेको एम्बुलेन्सको पूर्व मुख्यमन्त्री शाहीले स्वयम आफै चालक बनेर ३० सेकेन्ड जति अस्पताल परिसरमा गाडी गुडाएर उद्घाटन गरेका हुन् ।

‘ग्रामीण क्षेत्रका नागरिकलाई तत्काल उपचारका लागि आपतकालिन बिरामीको लागि एम्बुलेन्स उपयोगी हुनेछ ।’ शाहीले भने, ‘आफू हुम्लाकै छोरा भएकाले कोही पनि गरिब, दुखी बिरामीले जिल्ला बाहिर उपचारका महँगो खर्च तिरेर नजाउन् भनेर विशेषज्ञ चिकित्सक देखि स्वास्थ्य सामाग्री पर्याप्त उपलब्धताका लागि लागिपरेको छु ।

भारतको सहयोगमा आएको एम्बुलेन्सको उद्घाटन भएसँगै स्थानीय खुसी भएका छन् । अब सेवाग्राहीले पैदल तथा डोको पिठ्युँ, स्टेचरमा बोकेर उपचारका लागि अस्पतालसम्म पुर्‍याउनु पर्ने दिन हटेको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापन समितिका अध्यक्ष दीपक भण्डारीले बताए ।

नेपाली काँग्रेसका पूर्व जिल्ला पार्टी सभापति जयपति रोकायाले काठमाडौँबाट सिमिकोट ल्याउन अहम् भूमिका निर्वाह गरेका थिए । यस्तै काठमाडौँ, केरुङ, चीनको सिमानाका हिल्सा हुँदै जिल्ला अस्पतालसम्म पुग्नका लागि रु सात लाख रुपैयाँ ढुवानी खर्च लागेको थियो । एम्बुलेन्स भारत सरकारले निःशुल्क सहयोग गरेको हो ।

No description available.No description available.No description available.

प्रकाशित मिति : २०८० भदौ २१ गते बिहीबार